Logo

२ चैत,वीरगञ्ज । बाराको सिमरास्थित नगर अस्पतालमा दुई दिनदेखि जीवनजलको अभाव भएको छ । जितपुरसिमरा उपमहानगरद्वारा सञ्चालित सो अस्पतालमा निःशुल्क पाइने जीवनजल उपलब्ध नभएपछि बिरामीका आफन्तले निजी फार्मेसीबाट किन्न बाध्य भएका छन् ।

झडापखालामा मृत्यु हुनबाट जोगाउन अचुक औषधीको रुपमा चिकित्सकले जीवनजलको प्रयोग गर्न सल्लाह दिईरहेका छन् तर अस्पतालमा नपाउँदा उनीहरु अन्य निजी पसलबाट किन्न बाध्य भएका हुन् । स्वास्थ्यमा सबै नगरवासीको पहुँच होस् भन्दै नगर प्रमुख राजन पौडेलले प्राथमिक स्वास्थ्य केन्द्रलाई जनशक्ति थप गरी केही महिना अघि अस्पताल सञ्चालनमा ल्याएका थिए ।

अस्पतालका फार्मेसी सहायक अशोक कुमार साहले जीवनजलको स्टक नगरपालिकामै सकिएको बताउनुभयो ।तराईमा गर्मीयाम सुरु भएसँगै खाना र पानी दुवै दुषित हुने गरेको कारण झाडापखाला, टाइफाइड, छालारोग जस्ता बीरामीहरु नगर अस्पताल आउने क्रम बढदो रहेको अस्पतालले जनाएको छ । जीवन जल नहुँदा झाडा पखाला लागेर नगर अस्पताल आउने कतिपय कमजोर आर्थिक अवस्थाका विरामीहरु नजिकैको निजी अस्पतालमा महगों सेवा लिन बाध्य छन् ।

उपमहानगरमा औषधि उपलब्ध गराउने कम्पनी र कर्मचारीकै मिलोमतोमा जीवन जल बाहेक निःशुल्क रुपमा दिनुपर्ने कतिपय औषधि अस्पतालले उपलब्ध गराउन नसकेको प्रति नगरबासीले सेटिङ्ग भएको आरोप लगाउँदै आएका छन् ।

राज्यबाट ७० प्रकारको औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि अस्पतालले करिब १९ प्रकारका मात्रै औषधि उपलब्ध गराउँदै आएको छ । दैनिक सयभन्दा बढी नगरका विरामीहरुले सेवा लिने नगर अस्पतालमा २४ घण्टा एर्मेजेन्सीसहित तीन मेडिकल अफिसर र २५ जना तल्लो तहका कर्मचारी कार्यरत छन् ।


सम्बन्धित समाचार