Logo

२ चैत,वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ मझरियामा अनुदानमा आएकोे चापाकल दलका कार्यकर्तालाई बाँडेको रहस्य बाहिरिएको छ । अनुदानमा आएको चापाकल समुदायका लागी नभई दलका कार्यकर्ताहरुको प्रत्येक घरमा जडान गरिएको पाईएको हो ।

गरिब तथा दलित बस्तीमा अनुदानको चापाकल सामुदायीक रुपमा जडान नभई हुनेखाने दलका कार्यकर्ताहरुको घरघरमा बाँडिएको पाइएको छ । अनुदानको चापाकल जडान गर्दा सामुहिक रुपमा सामुदायमा नभई निजी जग्गामा जडान गरिएको र अरुले त्यस कलमा पानी लिन नआओस् भनि घेरा समेत लगाइएको पाइएको छ । आफूले मिहिनेत गरेर पालिकाबाट अनुदानबाट प्राप्त गरेको उक्त चापाकल निजी जग्गामा जडान गरेको र पानी पनि आफ्नै जग्गामा खसिरहेको हुँदा आफु अरुलाई प्रयोग गर्न नदिने विक्रम यादवले बताउनुभयो ।

मझरिया टोलमा ३५ घर भएको दलित बस्तीमा खानेपानीको अभाव रहे पनि त्यहाँ एउटा पनि पिउने पानीको लागि चापाकलको व्यवस्था नभएको पाइएको छ । जसको घरमा बोरिङ्ग छ, उसको घरमा अनुदानको चापाकल उपलब्ध गराईएको तर गरिबहरुलाई आवश्यकता हुँदा पनि चापाकलको व्यवस्था नभएको दलित वस्तीका स्थानिय सुरेश रामले गुनासो गर्नुभयो ।

आफुहरुले बाध्यताबस २० फिटमा जडान गरिएको निजी चापाकलबाट पानी खाईरहेको मनखिया देवीले जानकारी दिनुभयो । सार्वजनिक ठाउँमा पानी पिउनका लागि चापाकल र खानेपानीको धारा जडान भएको छ तर त्यो पनि संचालनमा नरहेको स्यानियले बताएका छन् ।

जनताले नै आफ्नो घरघरमा चापाकलको माग गरेकाले क्रमबद्ध तरिकाले सोको व्यवस्था मिलाउदैँ आएको वडा अध्यक्ष शिवधारी तत्वाले बताउनुभयो । दलित वस्तीमा चापाकल जडान नगरेको उहाँले स्वीकार गर्नुभएको छ । दलितवस्तीमा पानीको निकास नभएको कारण चापाकल नबाँडिएको वडा अध्यक्ष तत्वाको भनाई छ ।

गाउँमा नालाको पानीको निकास नै नरहेको र दलितलाई पानी खसाल्ने जग्गा समेतको अभाव रहेको हुँदा त्यसको व्यस्थापनसँगै खानेपानीको व्यवस्था मिलाउनेतर्फ स्थानिय सरकार जानकार रहेपनि चासो नदिएको बुद्धिजीवीहरुको भनाई छ । कार्यकर्ता पाल्ने तवरले स्थानिय सरकार र वडा अध्यक्षले काम गरिरहेको आरोप त्यहाँका गरिब जनताले आरोप लगाएका छन् ।


सम्बन्धित समाचार