Logo

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प अनुरुप वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको हो ।

यही चैत ३० गते बेलुकादेखि बैशाख २ गते मध्यरातिसम्म वीरगञ्जको आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । वीरगञ्जलाई आर्थिक नगरी भनेर चिनिने भएकाले पनि वीरगञ्जको व्यवसाय साँझ नपर्दै बन्द हुने गरेको थियो ।

यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार अबेरसम्म संचालन हुने वातावरण बनाउन पनि परीक्षण स्वरुप नयाँ वर्षको अवसर पारेर तीन दिने रात्री बजार लगाउन लागेको नगरप्रमुख सिहंले बताउनुभयो । महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चियाको सुरुवात गरिने उहाँको भनाई छ ।

रात्री बजार आयोजना गर्दा आइपर्ने अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसबाट नयाँ सन्देश सहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने नौलो अवधारणा सहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल गर्नुभएको छ ।

महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार“ तयारीको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिनसिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो । आदर्शनगर चोकदेखि कैलासचोक र त्यहाँबाट पुरानो बसपार्क सम्मको क्षेत्रमा करिब १ सय स्टल लगाउने गरि आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

 

 


सम्बन्धित समाचार