Logo

७ चैत,वीरगञ्ज । बाराको कोहल्वी नगरपालिकाले खोला उत्खनन् बन्द गरेको छ । नदीजन्य पदार्थ उत्खनन गरेबापत ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम नबुझाएपछि नगरपालिकाले खोला उत्खनन बन्द गरेको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्त सम्मको लागि बकैया खोलाबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन गर्न ४ करोड १ हजारमा नगरपालिकाले खोलाको ठेक्का लगाएको थियो । फागुन मसान्त भित्र बुझाउनुपर्ने किस्ताको राजस्व रकम ठेकेदारले नबुझाएपछि नगरपालिकाले चैत ३ गतेदेखि खोला उत्खनन बन्द गराएको हो ।

ठेकदारले राजस्व रकम जम्मा नगरेसम्म खोला खन्ने अनुमति नदिने र नगरपालिका आफैले खोला उत्खनन गर्ने कोहल्वी नगरपालिका प्रशासकीय अधिकृत मोहम्मद साविरले बताउनुभयो । नगरपालिकाले प्रसाँई निर्माण सेवा प्रा.लि, रियन्स निर्माण सेवा प्रा.लि, सिद्धार्थ निर्माण सेवा प्रा.लि, राम दुलारी कन्स्ट्रक्सन प्रा.लि.जेभी कम्पनीसँग नदीजन्य पदार्थ उत्खनन गर्न सम्झौता गरेको हो ।

ठेकदार कम्पनीले दोस्रो किस्ताको राजस्व रकम नबुझाएको र बैंक धरौटी समेत नराखेपछि नगरपालिकाले कारबाही प्रक्रिया अगाडी बढाएको साविरले बताउनुभयो नगरपालिकाले चालु आर्थिक वर्षको लागि ५७ लाख ११ हजार ८३५ घन फिट नदीजन्य पदार्थको न्यूनतम ठेक्का सकार रकम ३ करोड ९९ लाख ८२ हजार ८४८ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

बाराको १६ वटा पालिका मध्ये नदीजन्य पदार्थ उत्खनन गर्ने कोहल्वी नगरपालिका बाहेक जितपुरसिमरा र निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आफैले खोला खन्ने निर्णय गरेको छ । नदीजन्य पदार्थको ठेक्का वर्षेनी विवादमा परेपछि पालिका आफैले कार्यविधि बनाएर उत्खनन गर्ने निर्णय गरेको छ ।

 


सम्बन्धित समाचार