७ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ४ वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गर्ने भएको छ । महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि त्रिजुद्ध, नृसिंह, माइस्थानस्थित विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागु गर्ने भएको हो ।
यी विद्यालयमा कक्षा १ देखि १२ सम्म अंग्रजी माध्यममा निःशुल्क पढाइने वीरगञ्ज महानगरले जनाएको छ । महानगरमा ९० वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्नेगरि आन्तरिक तयारी भइरहेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
आवश्यक शिक्षक व्यवस्थापनका लागि पहिला महानगरकै विभिन्न विद्यालयमा कार्यरत शिक्षकलाई सरुवा गरेर ल्याउने, शिक्षक अपुग हुँदा स्वयंसेवी र मोबाईल शिक्षक खटाउने गरि छलफल चलिरहेको उहाँको भनाई छ । अंग्रजी माध्यममा अध्यापन गराउने बारे छलफल गर्न मेयर, प्रमुख प्रशासकीय अधिकृत, शैक्षिक प्रशासन महाशाखाका अधिकारी, ६ वटा विद्यालयका प्रधानाध्यापक एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष, ती विद्यालय भएका वडाका वडा अध्यक्षहरुको गत बुधबार बैठक बसेको थियो ।
बैठकले बाँकी विद्यालयमा पनि कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पढाउन आवश्यक तयारी थाल्ने र कक्षा १ मा भने सबै विद्यालयले अनिवार्य रुपमा अंग्रेजी माध्यममै पढाउनुपर्ने निर्णय भएको छ । पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित वीरगञ्जमा सुरजीदेवि मावि र त्रिभुवन हनुमान माविले पनि अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए ।
शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद भईरहेको थियो भने केहि विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आएका थिए । सुरजीदेवि र त्रिभुवन हनुमानले भने नेपाली माध्यममा मात्रै कक्षा सञ्चालन गर्न पाउनेछन् ।
वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले अंग्रेजी माध्यमप्रति अभिभावकको आकर्षण बढी देखिएकोले सबै विद्यालयमा अंग्रेजी माध्यममा लैजानेगरि महानगर अघि बढेको बताउनुभयो । उहाँले विद्यालयलाई पूर्ण रुपमा अंग्रेजी माध्यममा लैजाँदा त्यसको बाहानामा शुल्क उठाउने कार्य बन्द हुनुको साथै विद्यार्थी माथि भईरहेको विभेदको अन्त्य हुने आफूहरुको अपेक्षा रहेको बताउनुभयो । स्थानीय पाठ्यक्रम बनाएर भोजपुरी, नैतिक र सँस्कृति विषय पनि पढाउनेगरि तयारी भईरहेको उनको भनाई छ ।