८ चैत,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा वडाध्यक्षहरुले लगाएको ताला आज चौथो दिनपनि बन्द रहेको छ । गत आइतबार नगरपालिकाका आठ जना वडाध्यक्षहरुले कार्यपालिकामा भएको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका थिए । तर आज ४ दिन बितिसक्दा समेत तालाबन्दी नखुलेको हो ।
जसका कारण नगरपालिकामा आएका सेवाग्राही काम नै नगराई फर्किन बाध्य भएका छन् । वडाध्यक्षहरुले नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, जिन्सी शाखालगायतमा तालाबन्दी गरेका थिए । नगरपालिका कार्यालयको प्रमुख कक्षहरुमा तालाबन्दी गरिएकाले चार दिनदेखि दैनिक सयौँको सङख्यामा सेवाग्राहीहरु आएर फर्कीने गरेको नागरिक समाज सिम्रौनगढका उपाध्यक्ष सुजितकुमार कुशवाहाले जानकारी दिनुभयो ।
आफूहरुले यस विषयमा केही वडाध्यक्ष र मेयरसँग ताला खोल्ने विषयमा कुराकानी गरे पनि ताला खोल्न नसकिएको उहाँको भनाई छ । तालाबन्दी आज चौथोदिन पनि जारी रहेको हाम्रा सिम्रौनगढ सवांददाता रामेश्वर मेहताले बताउनुभयो ।
नगरपालिकाका जनप्रतिनिधिहरु जनताको सेवालाई बिर्सेर आफ्नो विकासमा लागेकोले कार्यालयको तालाबन्दी चार दिनसम्म पनि खुल्न नसकेको कुशवाहाले गुनासो गर्नुभएको छ । नगरपालिकाका जनप्रतिनिधिहरु तालाबन्दी खोल्नको लागि अग्रसर नदेखिएकाले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको गृह नगर यहि भएकाले मधेस प्रदेश सरकारसँग पहल गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।