Logo

८ चैत,वीरगञ्ज । देशको मुख्य भन्सार विरगंज भन्सार कार्यालयले चालु वर्षको ८ महिना लक्ष्यभन्दा कम राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा तोकिएको लक्ष्यको ६० प्रतिशतमात्रै राजस्व असुल गरेको हो ।

वीरगञ्ज भन्सारले बितेका ८ महीनामा १ खर्ब १ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले बताउनुभयो । सरकारले आयातमा गरेको कडाइ र स्वदेशी बजारमा आएको मागको कमीको असर भन्सारबाट उठ्ने राजस्वमा देखिएको ढाकाले बताउनुभयो ।

वीरगन्ज भन्सारलाई चालू वर्षको ८ महीनाका लागि १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँ उठाउने लक्ष्य भन्सार विभागले दिएको थियो । वर्षको शुरूदेखि नै आयातमा लिइएको कडाइको नीतिले समग्र व्यापार नै घटेकोले भन्सारले उठाउने राजस्वमा पनि असर देखिएको भन्सार अधिकारीहरूले बताउने गरेका छन् ।

राजनीतिक अस्थिरता र चुनावको माहोलमा सीमावर्ती क्षेत्रमा मौलाएको अवैध आयात र मुख्य नाकाबाटै ‘सेटिङ’मा चलेको राजस्व चुहावटको धन्धाले पनि भन्सारको राजस्व प्रभावित भएको भन्सारका कर्मचारी बताएका छन् ।

वीरगञ्ज भन्सारलाई यो वर्ष २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको छ । चालू वर्षका कुनै पनि महीनामा भन्सारले राजस्व लक्ष्य प्राप्त गर्न नसकेको तथ्यांकले देखाएको छ । वीरगन्ज नाकाबाट मुख्य रूपमा औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम र सवारीसाधन आयात हुने गरेको छ भने प्रशोधित तेल, तयारी कपडा, जुस, धागो लगायतका वस्तु निकासी हुने गरेको छ ।


सम्बन्धित समाचार