Logo

९ चैत,वीरगञ्ज । बाराको सदरमुकाम कलैयामा रहेको जिल्ला मालपोत कार्यालय अहिले डेढ महिनादेखि कार्यालय प्रमुख विहिन बनेको छ । तत्कालिन कार्यालय प्रमुख गोपाल प्रसाद बरालले गत माघ २१ गते अनिवार्य अवकाश भएपछि नयाँ कार्यालय प्रमुख आउनु भएको छैन ।

हालसम्म कार्यालय प्रमुख नआउँदा कार्यालयको दैनिक कामकाजमा अप्ठ्यारो परेको कर्मचारीहरुको गुनासो छ । तत्कालीन मालपोत प्रमुख बराल अनिवार्य अवकाश प्राप्त गरेपछि मालपोत अधिकृत सुमन चौधरीले स्वतः निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

तर मन्त्रालयले कार्यलय प्रमुखको जिम्मेवारी वा निमित्त कार्यालय प्रमुखको जिम्मेवारी नदिए सम्म निमित्त कार्यालय प्रमुखले दैनिक प्रशासनिक कार्य बाहेक केहि गर्न नपाउने प्रावधान रहेको छ । मालपोत कार्यालयले गर्नुपर्ने महत्वपुर्ण निर्णयहरु लगायत मोही कटा, मोही नामसारी, मोही सम्बन्धि मुददाहरुको टुंगो तथा फैसला समेत नहुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेको छ ।

मालपोत कार्यालयमा सेवाग्राहीको चाप एकदम बढी हुने गरेको छ । तर कार्यालय प्रमुख नभएकोले सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ । मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा धेरै जसो सेवाग्राहीहरु सधैं कार्यालय आउने र रित्तै फर्किनु पर्ने कलैया उपमहानगरपालिका वडा नम्बर १४ निवासी रामबाबु यादवले गुनासो गर्नुभयो । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासँग कुरा गर्दा आफु निर पनि सधैं जनगुनासो आईरहेको बताउनुभएको छ ।

हाल निमित्तको रुपमा रहेका चौधरीले कामकाज गर्दै आएका छन्। देशको संघिय सरकारमा रहेका मन्त्रीहरुमा धेरै जसोले राजिनामा दिएकोले कार्यालय प्रमुखको जिम्मेवारी दिई कर्मचारी पठाउन गाह्रो भएको छ । भुमिसुधार तथा मालपोत बिभागको डिजीसँग कुरा भएकोले चाडै नै कार्यालय प्रमुख आउनेमा विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभएको छ ।

 


सम्बन्धित समाचार