Logo

९ चैत ,काठमाडौं । समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।बैठक आज दिउँसो १ बजे बस्ने नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारमा सहभागिता, वैशाख १० गते हुने उपनिर्वाचन लगायत समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको तयारी गरिरहेका बेला लोसपा पनि सरकारमा जान इच्छुक छ ।

लोसपाका एक नेताले मन्त्रालयमा सम्मानजनक बाँडफाँट भए लोसपा पनि सरकारमा सहभागी हुने बताए ।बैठकमा बारा २, चितवन २ र तनहुँ १ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुने छ । बारा २ मा बढी चासो देखाएको लोसपाले नवलकिशोर सिंहलाई उम्मेदवार बनाउन चाहेको छ ।

तर सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने प्रयासमा छन् ।बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेकाले सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

यसैगरी तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले र चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा पनि उपनिर्वाचन हुन लागेको छ ।


सम्बन्धित समाचार