Logo

फाइल तस्बिर

९ चैत,वीरगञ्ज । बाराको अम्लेखगञ्ज क्षेत्र हाईकिङका लागि उचित गन्तव्यको रुपमा परिणत हुदैँ गएको छ । जीतपुरसिमरा उपमहानगर–२१ को झोलुङ्गे पुलदेखि वडा नं २२ को सिद्धबाबा मन्दिर हुँदै ढुकुवाबास ३ नं पुलसम्म करिव ७ किलोमिटर अहिले हाइकिङ रुटमा परिणत हुदैँ गएको हो ।

यो बारा जिल्लाकै पहिलो हाइकिङ क्षेत्र हो । अम्लेखगञ्जबाट चकरी जाने बाटोमा रहेको खोलाको झोलुंगे पुलदेखि तेर्सो उकालो लागेर झण्डै ३ किलोकिटर यात्रा तय गरेपछि सिद्धबाबा मन्दिर र त्यहाँबाट करिव ४ किलोमिटर यात्रा गरेपछि ३ नं पुलसम्म पुग्न सकिन्छ । सिद्धबाबा मन्दिर ऐतिहासिक धार्मिक तथा एउटा राम्रो प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा सम्भावना बोकेको ठाउँ हो ।

सिद्धबाबाको मन्दिर पुगेर दक्षिणतर्फ देखिने हरियाली र प्राकृतिक दृश्यसँगै चुरेबाट बग्ने खोलानाला, नजिकैको अम्लेखगञ्ज र सिमरा बजारको सुन्दर दृश्यले पर्यटक लोभिएका छन् । सो क्षेत्रबाट उत्तरतर्फ मौसम सफा भएको समयमा स्पष्ट रुपले हिमाल र तल फाँटका सुन्दर बस्ती देख्न सकिन्छ । सो क्षेत्रमा जीतपुरसिमरा उपमहानगरले गत बुधबार हाइकिङ कार्यक्रम सञ्चालन गरेको थियो ।

हाइकिङका क्रममा बाटोमा पर्ने अप्ठ्याराहरुको अध्ययनसँगै पर्यटकीय स्थलको रुपमा विकास गरी आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय होटल तथा पर्यटन व्यवसायीसँग हातेमालो गर्दै एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको हो ।

हाइकिङ ट्रयाक नभएको, पैदल यात्रुहरुका लागि विश्रामस्थल, पिउने पानीको अभाव देखिएको यात्रामा सहभागीहरुको गुनासो थियो । होटल तथा पर्यटन व्यवसायी संघ बाराका महासचिव गोविन्द गहतराजले अम्लेखगञ्जलाई हाइकिङ क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो ।


सम्बन्धित समाचार