Logo

महानगरको सार्वजनिक जमिनमा रक्सी पसल संचालनको लागि संरचना बनाइर्दै तस्विर : विशाल पटेल

३ फागुन, वीरगञ्ज । सार्वजनिक जग्गा संरक्षणको नाउँमा वीरगञ्ज महानगरपालिका मेयर राजेशमान सिंहले द्वैध चरित्र देखाएका छन् । महानगरले संरक्षण गर्नुपर्ने सार्वजनिक जग्गा मेयर राजेशमान सिंहले आफ्ना नजिकका व्यक्तिलाई अनन्तकाल सम्म प्रयोग गर्न दिएको तथ्य सार्वजनिक भएको छ ।

मेयर राजेशमान सिंहले एकातिर व्यक्तिले कब्जा गरेको सार्वजनिक जग्गा महानगरको नियन्त्रणमा ल्याउने अभियान चलाएका छन भने अर्को तर्फ महानगरले संरक्षण गर्नुपर्ने जग्गा धमाधम व्यक्तिको नाउँमा कौडीको भाउँमा दिने गरेका छन् । यसबाट उनको असली नियत उदाङ्गो भएको छ ।

वीरगञ्ज महानगर वडा नं. १२ स्थित बह्राचोकमा रहेको सार्वजनिक जग्गा महानगरले नियन्त्रणमा लिएर दिपेन्द्र गुप्तालाई रक्सी पसल संचालनको लागि दिइएको छ । बह्राचोकका वासिन्दाले बषौदेखि पूजा गर्दै आएको मन्दिर र पिपलको बोट भत्काएर उक्त स्थानमा रक्सीपसल संचालन गर्न दिएका हुन ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको ठाडो आदेशमा महानगरपालिकाले नगरविकासको स्वामित्वमा रहेको सार्वजनिक कल्र्भडको ३६० वर्गफिट जमिन वीरगञ्ज १२ का व्यवसायी दिपेन्द्र गुप्ताको नाउँमा रक्सी पसल संचालन गर्न भाडामा दिएका छन् ।

मेयरको आदेशमा व्यक्तिलाई पसल संचालनको लागि सार्वजनिक जग्गा न्यूनतम शुल्क भाडा लिने गरी दिइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए ।

महानगरपालिकाले लिखित रुपमा जग्गा दिएपछि गुप्ता सेकुवा कर्नरले सार्वजनिक जमिनमा स्थायी संरचना बनाएको छ । अहिले त्यसठाउँमा धमाधम पक्की भवन बन्दै छ ।

वीरगञ्जको ब्रह्रचोकका स्थानीयवासीले जल चढाउने र पूजापाठ गर्दै आएको पिपलको रुखलाई हटाएर उक्त स्थानमा गुप्ता सेकुवा कर्नरलाई भाडामा उपयोग गर्न दिएपछि स्थानीयवासी मेयर राजेशमान सिंहको द्वैध चरित्रका विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाले २०७९ पुष १२ गते दिवेन्द्र गुप्ताको नाउँमा मासिक ५ हजार ४ सय भाडा महानगरपालिकालाई बुझाउने शर्तमा अनन्तकाल सम्मको लागि उक्त जमिन उपभोग गर्न दिएपछि स्थानीयबासीले सार्जजनिक जमिनमा रक्सी पसल सञ्चालन गर्न नदिन जिल्ला प्रशासन कार्यालय पर्सा र महानगरपालिकाको वडा नं. १२ को कार्यालयमा निवेदन दिएका थिए ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सार्वजनिक जमिनमा रहेका अतिक्रमण हटाएको प्रचारवाजी गर्दै हिडेपनि भित्री रुपमा महानगरपालिकाको स्वामित्वमा नभएको सार्वजनिक जमिन समेत रक्सी पसल संचालनका लागि व्यक्तिलाई अनन्तकाल सम्म प्रयोग गर्न दिने नीतिले मेयर सिंहको बाहिर देखाउने एउटा र भित्र अर्कै प्रवृत्ति देखेपछि स्थानीयवासीले मेयरका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेका छन ।

नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्वन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।

मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुने छ भनिएको छ तर वीरगञ्ज महानगरपालिकाले वडा कार्यालयसँग कुनै समन्वय नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको वडा अध्यक्ष सुरेश गुप्ताले बताए ।

वडा कार्यालयलाई कुनै जानकारी नदिई मेयर राजेशमान सिंहले व्यक्तिलाई सिधै अनन्तकाल सम्मको लागि सार्वजनिक जग्गा प्रयोग गर्न दिएको प्रति आफ्नो असहमती रहेको वडा अध्यक्ष गुप्ताले बताए । उनले स्थानीयवासीको पवित्र पुजा पाठ गर्ने ठाउँलाई हटाएर रक्सी संचालन गर्न दिनु आफैमा अपराध भएको बताए ।

सार्वजनिक सम्पति त स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उदेश्यले त्यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्नेमा वडावासीसँग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दुखद कुरा भएको वडा अध्यक्ष गुप्ताले बताए । म स्थानीय जनताको पक्षमा छु सार्वजनिक सम्पति कुनै व्यक्तिलाई हकभोग गर्न दिने बिषय ऐन कानुनको विरुद्ध छ यसमा वडा कार्यालयको तर्फबाट सार्वजनिक हितमा प्रयोग गर्ने गरी पहल हुन्छ गुप्ताले भने ।


सम्बन्धित समाचार