Logo

१६ चैत, वीरगञ्ज । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको रहस्य बाहिरिएको छ । ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि महिलाले आफ्नै श्रीमानको हत्या गरेको रहस्य बाहिरिएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्या गरेको आरोपमा उनकी ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक ६ गते घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई जानकारी गराएकी थिईन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बतायो । तर अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक दीपक रायले बताउनुभयो ।

इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नातामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षक रायका अनुसार ऋण चुक्ता गर्न योजनावद्ध तरिकाले शिवशंकरको हत्या गरेको बयान दिएका छन् ।

घरव्यवहार चलाउन शिवशंकर र कोशिलादेवीले नातामा भाउजू पर्ने शान्ति देवीसित ऋण लिएका थिए । शान्ति देवीले ऋण चुक्ता गर्न दबाब दिँदै आएकी थिइन् । दाउरा बेचविखन तथा मजदुरी गरेर तीन सन्तानसहित पाँचजनाको परिवार पाल्दै आएका शिवशंकरले ऋण तिर्न सकिरहेका थिएनन् । त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् ।

शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिलाले श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् । योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०/२० लाखको बिमा गराए ।

५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नसामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको प्रनाउ रायले बताउनुभयो ।

करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवीसहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको रायले बताए ।


सम्बन्धित समाचार