Logo

१६ चैत, वीरगञ्ज । मधेश प्रदेशबाट यस पटक एसईईमा ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरका जिल्लामा २ सय ७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ।

मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छ। धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा कम विद्यार्थी रौतहट जिल्लामा छन्। यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यसैगरी १० हजारभन्दा बढी र ११ हजारभन्दा कम सङ्ख्या विद्यार्थी भएको दुईवटा जिल्ला छन्। यहाँ ४० वटा परीक्षा केन्द्र तोकिएको छ। सर्लाहीमा ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चूडामणि फुयालले जानकारी दिनुभयो।

एसईई परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको उहाँले बताउनुभयो। एसईई परीक्षामा केन्द्राध्यक्षले अमर्यादित काम गरेको ठहर भएमा तीन वर्ष कैद र २५ हजार जरिवाना तिर्नुपर्ने प्रावधान रहेको निर्देशक फुयालले बताउनुभयो।

प्रत्येक परीक्षा केन्द्रमा औसतमा केन्द्राध्यक्षसहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन हुने उहाँले बताउनुभयो।

परीक्षालाई चिट चोरीरहित, मर्यादित, निष्पक्ष, अनुशासित बनाउन, निर्देशकको नेतृत्वमा प्रदेशस्तरीय, निर्देशनालयबाट जिल्लामा कर्मचारी प्रतिनिधि खटाएर अनुगमन गरिने तयारी गरिएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिको टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था रहेको निर्देशक फुयालले जानकारी दिनुभयो।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको तालिकाबमोजिम शुक्रबार (भोली)देखि एसईई परीक्षा सञ्चालन हुनेछ। नियमित र ग्रेडवृद्धि परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। चैत २९ गतेसम्म परिक्षा संचालन हुनेछ ।


सम्बन्धित समाचार