Logo

१९ चैत, वीरगञ्ज । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बारा–२ मा जसपाका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो ।

बैठकमा जसपाको उम्मेदवारलाई सघाउने सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको सहमहामन्त्री जिवन परियारले जानकारी दिनुभयो । यसअघि बसेको कार्यसम्पादन समितिको बैठकमा पनि जसपाका उम्मेद्वारलाई नै सघाउनेबारे छलफल भएपनि विवाद हुँदा निर्णय हुन सकेको थिएन ।

आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो । सहमहामन्त्री पाण्डेले २०७९ को निर्वाचन भन्दा पहिला पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने बताउनु भयो । सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको बताउनुभयो । बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रस्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार