Logo

२० चैत,ठोरी । पर्साको ठोरी गाउँपालिका २ स्थित जगंल रिसोर्टमा ठोरीको पर्यटन प्रवर्धनमा सरोकारवालाहरुको भुमिका तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

ठोरी गाउँपालिका तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । मधेश प्रदेश सरकारकी उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यता एवम् होटेल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरी पन्तको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले यसअघिको मधेस सरकारले ठोरीलाई झुक्याएको बताउनुभयो । पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यकालमा जंगल रिसोर्टको स्टेजबाट ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै १० करोड दिने घोषणा गरेको र आफू निर्वाचित भएपछि मुख्यमन्त्रीसँग भेट्न जाँदा तपाईहरु जानुहोस् बजेट आफूहरुले ल्याउने भन्दै झुक्काएको उहाँको गुनासो छ ।

ठोरी क्षेत्रबाट प्रदेश र संघीय सांसदहरु जुनसुकै पार्टीबाट निर्वाचित भएपनि ठोरीलाई बेवास्ता गर्दै ओझेलमा पारेको बताउदै अध्यक्ष श्रेष्ठले मन्त्री यादवसँग भने ठोरीको बिकासका लागि केही आश बोकेको जानकारी दिनुभयो । यता अध्यक्ष श्रेष्ठको प्रश्नको जवाफ दिनुहुदैँ मन्त्री यादवले आफुले गर्न नसक्ने कामको घोषणामात्र नगर्ने बताउनुहुदैँ अबको सरकार तथा मन्त्रालयले ठोरीलाई विशेष प्राथमिकतामा राख्ने आश्वासन दिनुभयो ।

आफू मन्त्री बनेको डेढ महिना मात्र भएको बताउदै मन्त्री यादवले अब जनकपुर गएर बिज्ञहरुसँग परामर्श गरि ठोरीको लागि योजना बनाउने बताउनुभयो । कार्यक्रममा ठोरी गाउँपालिकाले पर्यटन मन्त्री यादव, वीरगञ्जका होटल व्यवसायीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई ठोरीको पर्यटकीय स्थलहरु समेटिएको व्यानर चिनो स्वरुप प्रदान गर्दै आ–आफ्नो होटेल तथा संघसंस्थामा व्यानर राखेर ठोरीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।


सम्बन्धित समाचार