Logo

२५ चैत,वीरगञ्ज । मधेश प्रदेशमा दासप्रथाको अवशेषका रुपमा रहेको हरवाचरवा (बाध्यकारी बधुवा श्रमिक)ले अधिकारका लागि संघर्ष गर्ने भएका छन् । हरच–वाचरवा प्रथा मुक्तिको घोषणा भएको ९ महिना वितिसक्दा पनि सरकारले पुनःस्थापनाको कार्य अगाडि नबढाएकोले उनीहरु संघर्षमा उत्रिएका हुन् ।

उनीहरुले आजदेखि २८ गतेसम्म मधेश प्रदेशमा हरवाचरवा अधिकार यात्रा २०७९ निकाल्दैछन् । राष्ट्रिय हरवाचरवा अधिकार मञ्च, केन्द्रीय कार्य समिति लहानले राष्ट्रिय दलित नेटवर्क (आरडीएन) नेपाललगायत संघसंस्थाको सहकार्यमा यात्रा निकाल्न लागिएको हो । ‘मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार’ भन्ने नाराका साथ लहान र वीरगञ्जबाट एकसाथ जनकपुरसम्मको यात्रा निकालिने राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७९ साउन २ गते हरवाचरवा मुक्तिको घोषणा गरेको थियो । घोषणाको समयमा नेपाल सरकारले प्रतिबद्धता जाहेर गरेको लगत संकलन, सत्यापन, परिचय पत्र वितरण, पुनर्स्थापना, सामाजिक विभेदको अन्त्य, मर्यादित जीवन, सामाजिक सशक्तीकरण, समावेशीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षाका मुद्दाहरु सम्बोधन हुने आशा राखेका थिए । तर त्यो पुरा नभएपछि उनीहरु सरकारसँग असन्तुष्ट छन् ।

हरवाचरवामा जागरण ल्याउन र सरकारलाई माग पूरा गराउन दबाब दिने उद्देश्यले यात्राको आयोजना गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल बताउँछन् ।

यात्राका क्रममा हरवाचरवाको बाहुल्य रहेका पालिकाहरुमा गई पालिका प्रमुखहरुबाट प्रतिबद्धता लिने, हरवाचरवा बस्तीमा गई ज्ञापन पत्रमा हस्ताक्षर संकलन गरिने उनले बताए । हरवाचरवा र शुभचिन्तकहरुबाट संकलन गरिएको हस्ताक्षरसहितको ज्ञापन पत्र मधेश प्रदेशका मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम तय गरिएको छ ।


सम्बन्धित समाचार