Logo

२६ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलको कमिशन मोहको कारण वीरगञ्ज महानगरपालिका भ्रष्ट्राचारको दलदलमा फसेको छ ।

सार्वजनिक खरिद ऐन र नियमावली विपरित आर्थिक लेनदेनका आधारमा प्रमुख प्रशासकिय अधिकृतले समेत काम गर्न थालेपछि महानगरपालिका भित्र भ्रष्ट्राचार संस्थागत रुपमा मौलाएको सेवाग्राहीको भनाई छ ।

संघीय सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहमा खटिने प्रमुख प्रशासकिय अधिकृतले कमिशनको मोहमा ऐन कानुन विपरित काम गर्न थालेपछि वीरगञ्ज महानगरपालिकाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ । संघीय सरकारले आफ्नो प्रतिनिधिको रुपमा ऐन नियम भित्र रहेर कानुन बमोजिम काम गर्ने शर्तमा स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत खटाउने गरेको हो ।

प्रमुख प्रशासकिय अधिकृत पौडेलले गत मंसिर ४ गतेको प्रतिनिनिधि सभा र प्रदेश सभासदस्यको निर्वाचनलाई लक्षित गरी २०७९ भदौ देखि कार्तिक सम्म विभिन्न चरणमा नियुक्ती भएका दैनिक ज्यालादारीका ४ सय ९७ जना कर्मचारीलाई नियुक्त गरेका थिए ।

वीरगञ्ज महानगरपालिकाबाट दैनिक ज्यालादारीमा नियुक्त भएका कर्मचारीलाई प्रतिनिधि सभाको निर्वाचनमा जसपाका उमेदरवार र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उमेदवारलाई सहयोग गर्ने मौखिक शर्त राखेर नियुक्ती दिइएको थियो ।

निर्वाचन सकिएपछि २०७९/०८/२९ गते प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले एक सूचना जारीगरी वीरगञ्ज महानगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र केन्द्रमा कार्यरत (बारुणयन्त्र र नगर प्रहरी) बाहेकका दैनिक ज्यालादारीका सवै कर्मचारीलाई मंसिर २६ गतेको निर्णय अनुसार पुष १ गते देखि ज्यालादारी सेवाबाट हटाएका थिए ।

दैनिक ज्यालादारीबाट हटाइएका भनिएका ५ सय कर्मचारी मध्ये २४३ जनालाई पुष महिनाको तलव भुक्तान गरिएको छ । महानगरपालिकामा २०७९ फागुन मसान्त सम्म अझै ३१६ जना व्यक्तिलाई विभिन्न पदमा दैनिक ज्यालादारीमा नियुक्ती दिइएर तलव खुवाउने काम भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले स्वीकार गरेका छन् ।

पछिल्लो पटक दैनिक ज्यालादारीमा राखिएका कर्मचारीलाई नियुक्ती पत्र नदिएर सिधै तलव बापत मासिक २४ हजारको दरले रकम भुक्तानी गरिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयमा काम गरेर लेखा सम्वन्धी अनुभव बटुलेका पौडेलले अख्तियारमा आफ्नो मान्छे छ भन्दै गैरकानुनी काममा रुचि देखाएका छन् । अख्तियार अनुसन्धान आयोगले समेत अहिले सम्म उनलाई कुनै कार्वाही नगरेकोमा वीरगञ्ज महानगरपालिकाका केही जनप्रतिनिधिले गुनासो गरेका छन् ।

पछिल्लो पटक केही फर्जी व्यक्तिको नाउँमा समेत तलव जाने गरेको र त्यसको केही हिस्सा प्रमुख प्रशासकिय अधिकृतको भागमा समेत आउने गरेको महानगरकै कर्मचारीले बताउने गरेका छन् । यस बारेमा भने उनले सम्वन्धी कर्मचारीको खातामा पैसा जाने भएकोले आफूमाथि लागेको गलत आरोप भएको बताए ।

प्रमुख प्रशासकिय अधिकृत पौडेल कोष तथा लेखा नियन्त्रण कार्यालयको प्रमुख भएर आउदा सोही कार्यालयमा कार्यालय सहयोगी पदमा नितु देवीलाई नियुक्त गरेका थिए ।

पौडेल वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर आए लगत्तै नितुको जागीर वीरगञ्ज महानगरपालिकामा भएको छ । उनलाई दैनिक ज्यालादारीमा कार्यालय सहयोगीमा नियुक्त गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत पौडलेले २०७९ मंसिर २८ गतेको आफैले जारी गरेको दैनिक ज्यालादारी हटाउने निर्णय विपरित उनले नितु देवीलाई निरन्तर तलव दिदै आएका छन् । उनको जागिर आजका मिति सम्म कायमै छ । आफैले गरेको निर्णय विपरित दैनिक ज्यालादारीमा मन परेका कर्मचारी राख्ने प्रमुख प्रशासकिय अधिकृत पौडेलेको कार्यालय सहयोगीको जागिर मोहका वारेमा वीरगञ्ज महानगरपालिका भित्र व्यापक चर्चा हुने गरेको छ ।

वीरगञ्ज महानगरपालिकामा दैनिक ज्यालादारीमा नियुक्त कर्मचारीको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । प्रशासकिय अधिकृत पौडेलले अख्तियारका कर्मचारीलाई आफूले मिलाएकोले अख्तियारबाट कुनै कार्वाही नहुने बताउदै हिडेका छन् ।

उनले महानगरपालिकाका कर्मचारीलाई समेत निर्धक्क भएर काम गर्न र अख्तियारको पत्रबाट नडराउन भन्ने गरेको कर्मचारीहरुको भनाई छ ।

अधिकांश योजनामा कमिशन

वीरगञ्ज महानगरपालिकाका अधिकांश योजनाहरु उपभोक्ता समिति र कोटेशनबाट काम हुन गरेका छन् । उपभोक्ता समिति मार्फत भएका अधिकांशमा निर्माण योजनामा २० देखि ३० प्रतिशत सम्म कमिशन उठाउने गरेको स्रोतको भनाई छ ।

अहिले वीरगञ्ज महानगरपालिकाले गहवामाई मन्दिरको सौन्दर्य गर्ने नाउँमा सडकमा पेवल राख्दा उपभोक्ता समिति मार्फत ६५ लाख र एशिएन कंकिट प्रा.लीको नाउँमा २५ लाखको कोटेशन मार्फत काम गराएको छ । एउटै कामलाई टुक्रा बनाएर खरिद ऐन विपरित ९० लाखको काम गरिएको छ ।

उपभोक्ता समितिको नाउँमा ६५ लाख बराबरको काम समेत एशियन कंकिट प्रा.लिले गरेको छ । उपभोक्ता समितिकी अध्यक्ष उत्तमा प्याकुरेलले यसमा कत्ति रकम खर्च भएको हो भन्ने बारेमा आफूलाई कुनै जानकारी नभएको र केही रकम कमिशन दिनु पर्छ भने महानगरपालिकाका कर्मचारीले भन्ने गरेको कुरा रेस खवरसँग बताई ।

महानगरपालिकाले घण्टाघर, शंकराचार्यगेट र चिनी मिल आवास क्षेत्र भित्र रहेको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण र मर्मतको नाउँमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडेलले कमिशन लिएर कोटेशनमा काम गरेका छन् । महानगरपालिका भित्र भएको भ्रष्ट्राचारका बिषयहरु बाहिर आउदै छन् ।


सम्बन्धित समाचार