Logo

२७ चैत,वीरगञ्ज । पर्सा प्रहरीले दुईदिनमा १८३ केजी प्रतिबन्धित लागूऔषध सहित चारजनालाई पक्राउ गरेको छ । आईतबार अपरान्ह पौने पाँच बजेको समयमा पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ देउरीया स्थित प्रदेशी राउतको घरमा छापा मारेर प्रहरीले ११८ केजी लागु औषध चरेश बरामद गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाको कमाण्डमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही समेतको संयुक्त प्रहरी टोलीले प्रदेशी राउतको घर तथा टहरा समेतमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ के.जी. र गाँजा ४ के.जी फेला परेको जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

लागूऔषध, ओसारपसार तथा किन बेच समेतमा संलग्न पर्सको पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी वर्ष ६० को प्रदेशी राउत (थार्रु) मकवानपुर रक्सीराङ गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३८ को रमेश मोक्तान र सोही गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २५ को रोशन मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध चरेश र गाँजा सहित पक्राउ परेका उनीहरू विरुद्द लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यसतै चैत २४ गते राति साढे १० बजेको समयमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक शंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ६१ केजी लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको थियो ।

पर्साको ठोरी गाउँपालिका वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुँदै संकाष्पद रुपमा सेतो बोरा बोकी आउँदै गरेका चितवन जिल्लाको लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङको साथबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

तामाङले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरी कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा प्रतिबन्धित लागु औषध गाँजा ६१ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका तामाङलाई लागू औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट ४(चार) दिनके म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार