Logo

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ वर्षको अवसर पारेर यही चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे । रात्रि बजार अवधिभर नेपाल भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएको भन्दै उनले यसले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने पनि बताए ।

यहाँका उद्योगी, व्यवसायीसँगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने पनि उनले बताए। ‘यहाँका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौँ,’ उनले भने, ‘यसले यहाँका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएका छौँ ।’

रात्रि बजार नाफा कमाउन नभई यहाँको आर्थीक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क १ हजार रुपैयाँ मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताए।

आर्थिक मन्दिको कारण सुस्ताएको बजार क्षेत्रमा रौनकता थप्नको लागि रात्री बजारको अवधारणा ल्याइएको आयोजक समितिका सदस्य अनुप अग्रवालले बताए । यस्ता कार्यक्रमले वीरगञ्जको बजारलाई चलायमान गराई राख्न सहयोग पुग्ने उनको धारणा छ ।

आदर्शनगर चोकदेखि कैलास चोक हुँदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा एक सय भन्दा बढी थरिथरिका स्टलहरु रहने उनले जानकारी दिए। शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने आयोजक समितिका सदस्य संजय अग्रवालले बताए ।

आयोजक समितिका सदस्य नुतन सरावगीका अनुसार रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहेने छ । सांगेतीक कार्यक्रमा स्थानीय कलाकारलाई प्राथमिकता दिइने छ । भारतबाट समेत कलाकारहरु आउने उनले बताईन ।

बजारको मुख्य उदेश्य स्थानीय उत्पादनलाई बढवा दिनु रहेको भएपनि भारतबाट तन्दुरी चिया, मेहन्दी र टाटु बनाउने कला सिकाउने काम समेत हुने सरावगीले बताईन् ।

रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसँगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन पनि मेयर सिंहले सबैलाई आग्रह गरे । पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, रात्रि बजार व्यवस्थापन समितिका जयप्रकास खेतान, नुतन सरावगी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो

रात्री बजारको सह आयोजकमा ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाली युवा उद्यमी मंच, वीरगञ्ज साइकिलीङ क्लव, फोरजीआर ग्रुप, वेमन क्रियशन लगायतका संस्थाले काम गरेका छन ।


सम्बन्धित समाचार