Logo

२९ चैत,वीरगञ्ज । वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनमा देखिएको समस्या समाधानका लागि पहल थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कारखाना सञ्चालनमा देखिएका समस्या समाधानका लागि पहल सुरु गर्नुभएको हो । कृषि कारखाना विगत दुई दशकदेखि बन्द रहेकाले मर्मत सम्भार गरी १ वर्षभित्रै सञ्चालनमा ल्याउन सरकारले गत भदौमा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको थियो ।

तर केन्द्रले कारखाना पुनः सञ्चालनका लागि काम थालेको ७ महिना बित्दा समेत सम्झौता अनुसार अर्थ मन्त्रालयले रकम निकासा नगर्दा कारखाना पुनः सञ्चालनमा समस्या भइरहेको केन्द्रका अध्यक्ष महावीर पुनले बताउदैँ आउनुभएको छ । सोही गुनासोलाई सम्बोधन गर्ने प्रयास स्वरूप मन्त्री रिजालले हिजो केन्द्रका अध्यक्ष पुनलाई मन्त्रालयमै बोलाएर छलफल गर्नुभएको हो ।

छलफलका क्रममा पुनले अर्थ मन्त्रालयसँगको सम्झौतामा तत्कालका लागि २५ करोड रुपैयाँ केन्द्रलाई उपलब्ध गराउनुपर्ने उल्लेख भएपनि अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो गर्नुभयो । यता उद्योग मन्त्रालयका सचिव ज्ञवालीले कृषि मन्त्रालय मातहत रहेको कृषि औजार कारखानाका लागि उद्योग मन्त्रालयले सिधै बजेट निकासा गर्न नमिल्ने भएकाले यसका लागि कृषि र अर्थ मन्त्रालयसँग समन्वय जरुरी रहेको बताउनुभएको थियो ।

छलफल पश्चात मन्त्री रिजालले कारखाना चाडोभन्दा चाडो सञ्चालनको अवस्थामा ल्याउन उद्योग मन्त्रालय लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कृषि र अर्थ मन्त्रालयसँग समन्वय र सहकार्यका लागि आफू स्वंय नै लाग्ने आश्वासन दिनुभएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन उहाँले उद्योग मन्त्रालयका सचिव ज्ञवालीलाई निर्देशन समेत दिनुभएको छ ।


सम्बन्धित समाचार