Logo

२९ चैत,वीरगञ्ज । विद्यार्थीको शूल्क नउठेपछि पारिश्रमिक पनि नपाएको भन्दै अभिभावकहरुबाट शुल्क उठाउने वातावरण बनाईदिन वीरगञ्जका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरुले महानगरमा ज्ञापन पत्र बुझाएका छन् ।

भर्खरै सम्पन्न अन्तिम परीक्षाको समयमा वीरगञ्ज महानगरले शूल्क नबुझाउनेलाई पनि परीक्षाबाट बञ्चित नगराउन महानगरले गरेको निर्देशन अनुसार परीक्षामा सामेल गराएपनि विद्यार्थीको शूल्क नउठेर शिक्षक कर्मचारीहरुको पारिश्रमिक दिन समेत समस्या भएकोले महानगरले नै पहल गरेर उठाउनुपर्ने शिक्षकहरुको माग छ । दुई महिनादेखिको पारिश्रमिक नपाएको दुखेसो पोख्दै शिक्षकहरुले तलब माग्दा अभिभावकले नै शूल्क नदिएको व्यवस्थापन पक्षले भनेपछि महानगरलाई गुहार्न बाध्य भएको नीजि विद्यालयका शिक्षकहरुको भनाई छ ।

कोरोना महामारी संक्रमणको बेलादेखि नै प्रभावित भएको शैक्षिक क्षेत्रमा अनलाईन माध्यमबाट समेत अध्ययन अध्यापनलाई जारी राखेर शिक्षाको गुणस्तरलाई खस्किन नदिन मुख्य भूमिका खेलेका नीजि विद्यालयहरुले अहिले अभिभावकहरुले तिनुपर्ने बक्यौता शुल्क नतिरिदिँदा आर्थिक अवस्था कमजोर हुदै गएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् । विद्यार्थीको बक्यौता शुल्क बुझाउन अभिभावकहरुलाई पटक पटक आग्रह गर्दा समेत शैक्षिक सत्रको अन्त्य भएर अन्तिम नतिजा प्रकाशन गर्ने समयसम्म शुल्क नबुझाउँदा आगामी आर्थिक बर्षमा विद्यालय सञ्चालनमा कठिनाई हुने त्रास रहेको एक विद्यालयका सञ्चालकले चिन्ता व्यक्त गर्नुभएको छ ।

वीरगन्जका गौतम माध्यामिक विद्यालय, ज्ञानदा एकेडेमी, एञ्जल इन्टरनेशनल स्कुल, जिएचपी मावि र कादम्बरी एकेडेमी लगायत विद्यालयका संचालक र शिक्षक तथा कर्मचारीहरुले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन् । विद्यालयका सञ्चालक र शिक्षक कर्मचारीहरुको ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख राजेशमान सिंहले कतिपय नीजि विद्यालयहरुले परीक्षाको समयमा शुल्क नबुझाएका विद्यार्थीहरुलाई परीक्षा दिनबाट बञ्चित गराउने गरेको गुनासो आउने गरेपछि शुल्क नतिरेकै भरमा विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न महानगरपालिकाले सूचना जारी गरेपछि अधिकांश अभिभावकहरुले शुल्क नतिर्ने प्रवृत्ति देखिएको बुझिएको बताउनुभयो ।

उहाँले कुनै विद्यार्थी शुल्क तिर्न नसकेको कारणले नै भविष्य नबिग्रियोस भनेर शुल्कको बाहनामा विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगराउन सूचना जारी गरेको बताउदै सबै हकमा सूचना जारी गरिएको भनेर बुझाईमा कमी भएको स्पष्ट पार्नुभयो । शुल्क उठाउने समस्या विद्यालयको भएपनि महानगरकै कारणले शुल्क उठ्न सकेन भनेर विद्यालय व्यावस्थापनले शिक्षक कर्मचारीहरुलाई भनेपछि महानगरमा आएको बुझिएकोले आपसी छलफलबाट समस्याको सामाधान निकालिने नगर प्रमुख सिंहले आश्वासन दिनुभएको छ ।


सम्बन्धित समाचार