Logo

२९ चैत,वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा सञ्चालित शिवम् लेयर्स उद्योग बन्द गर्नुपर्ने भन्दै स्थानियले विरोध गरेका छन् । उद्योगलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने माग राख्दै उनीहरुले आज शिवम् लेयर्सको मुलगेट अगाडी धर्ना दिनुको साथै प्रदर्शन समेत गरेका हुन् । उद्योगको अनुगमन गर्न पुगेको सयुंक्त अनुगमन टोलीको अगाडी नै उनीहरुले प्रदर्शन गरेका हुन् ।

पटकपटक नेपाल सरकारले तोके बमोजिमको मापदण्ड अपनाउन अनुरोध गर्दा समेत उद्योगले अटेर गरेपछि स्थानिय सरकारले कडा निति अपनाएको छ । उद्योगले ८० प्रतिशत मापदण्ड पुरा भएको तथा झिङगा दुर्गन्ध लगायत नियन्त्रणमा आईसकेको जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भेटेनरी कार्यालय तथा स्थानिय सरकार प्रमुख सहितको टोली अनुगमनको लागि उद्योगमा पुगेका थिए ।

तर अनुगमन टोलीले उद्योगले दावी गरे बमोजिमको अवस्था नभेटिएको बताएका छन् । उद्योग प्रशासनका कर्मचारी तथा संचालक शिवजी कलवारले उद्योग कुनै हालतमा बन्द गर्न नमिल्ने बताएपछि स्थानियहरुले शिवजी कलवार तथा उद्योगका कर्मचारीहरुलाई धक्का मुक्का गर्दै भगाएका थिए । स्थानिय प्रशासन र स्थानियको छलफलमा उनीहरुले मापदण्ड विपरित उद्योग चल्न नदिने भन्दै अडान लिएका छन् ।

यता पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीले आफुहरुले जनताको स्वास्थ्यसँग खेलवाड हुन नदिने बताउदैँ उद्योगको यस्तै रवैया रहे उद्योगमा ताल्चा लगाइ दिने चेतावनी समेत दिएका छन् ।

 


सम्बन्धित समाचार