Logo

१ बैशाख, वीरगञ्ज । यही बैशाख १० हुने निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नं. २ मा पाँच दलीय गठबन्धनले सम्पर्क कार्यालय स्थापना गरेको छ । उपनिर्वाचन नजिकिएसँगै प्रचार प्रसारलाई तिव्रता पार्न बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरमा कार्यलय स्थापना गरिएको हो ।

कार्यालयको आज जसपाका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का मधेश प्रदेश प्रमुख एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमलाई कांग्रेसका केन्द्रिय सदस्य खाँणले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनको प्रतिनिधत्व गरिरहेको कारण उहाँ नेपाली कांग्रेस समेतको उम्मेदवार बन्नुभएको उल्लेख गर्नुभयो ।

उहाँले कांग्रेस बाराका नेता र कार्यकर्ताहरुलाई गठबन्धनका उम्मेदवार यादवलाई जिताउन चुनावी अभियानलाई तिव्र पार्न आग्रह गर्नुभएको छ ।
त्यस्तै जसपा अध्यक्ष यादवले बारा जिल्ला र समग्रमा मधेशको विकास र समृद्धि आफ्नो मूल चुनावी एजेण्डा भएको बताउनुभयो ।

उहाँले निर्वाचनमा उम्मेदवारको पृष्ठभूमि र गरेको कामको मूल्यांकन गरेर मतदानलाई आग्रह गर्नुभएको छ । भ्रम फैलाएर मधेशीबिच द्वन्द्वको सृजना गर्नेबाट सावधान रहन आग्रह समेत गर्नुभएको छ ।

त्यस्तै लोसपा मधेश प्रदेशका प्रमुख जितेन्द्र सोनलले पनि उपेन्द्र यादव जस्तो नेता संसद् बाहिर रहनु संघीयताको लागि घातक भएको स्पष्ट पार्नुभएको छ ।

पछिल्लो समय संघीयतालाई कमजोर पार्ने शक्तिहरु सक्रिय भइरहँदा यसको संरक्षणका लागि आवाज उठाउन उपेन्द्र यादव जस्तो नेताको संसद्मा उपस्थिति अपरिहार्य रहेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार