Logo

२ वैशाख, वीरगञ्ज । स्थानिय नागरिक एवम् उद्योगी व्यवसायीहरुले सीमावर्ती क्षेत्रमा भोग्नुपरेका समस्याका विषयमा सरोकारवालासँग छलफल गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज आयोजना गरेको सीमा सुरक्षा बैठकमा सीमावर्ती क्षेत्रमा भएका नीतिगत एवम् संरचनागत समस्याका विषयमा छलफल गरिएको हो ।

छलफलमा सहभागीता जनाउनुभएका वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले रेल्वेबाट आयत हुने सामग्री बाटोबाटै चोरी हुने गरेकोप्रति सम्बन्धित भारतीय निकायको ध्यानाकर्षण गराउनुभएको छ । पर्यटनको विकासमा दुवै देशको महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले सीमावर्ती शहरमा पर्यटन पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली नम्बर भएका सवारी साधनलाई भारत प्रवेशमा हुने कठीनाईलाई सहज बनाउनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले सुझाव दिनुभएको छ । यता वीरगञ्ज महानगरले रात्री बजारका अवसरमा ३ दिन २४ सै घण्टा खुला गरेको सीमानाकालाई निरन्तरता दिएको खण्डमा दुवै देशको आर्थिक विकासमा टेवा पुग्ने उहाँको विश्वास छ ।

सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढ्दै जाँदा पनि आवतजावतमा असहजता हुनेप्रति उहाँको आपत्ती छ । भारतबाट वीरगञ्ज आउनेहरु दिल्ली जानका लागि काठमाण्डौ जानुपर्ने बाध्यता रहेको बताउनुहुदैँ टेमानीले सीमावर्ती शहर रक्सौलमै रहेको विमानस्थललाई विस्तार गरेर सञ्चालन गर्न सके धेरै राहत हुनेमा जोड दिनुभयो ।

त्यस्तै सीमावर्ती शहर रक्सौलमा प्रवेश गर्ने बित्तिकै अवैध रुपमा सञ्चालित सटही काउन्टरका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठले बताउनुभयो । उहाँले अवैध रुपमा रहेका सटही काउन्टरका कारण कतिपय नागरिक ठगीन पनि बाध्य भएको जानकारी दिनुभयो । सटही काउन्टरलाई व्यवस्थित बनाउनुपर्ने लाठको सुझाव छ ।

सीमावर्ती शहरअन्र्तगत नेपालतर्फका पूर्वाधारहरु केही हदसम्म सुधारात्मक अवस्थामा भएपनि भारतीय क्षेत्रमा बेवास्ता भइरहेको उहाँको बुझाई छ । उद्योगी व्यवसायीहरुले उठाएका विषय तथा समस्याका सम्बन्धमा भारत पूर्वी चम्पारण मोतिहारीका जिल्ला अधिकारी सौरभ जोरवालले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

सीमा क्षेत्रका समस्याहरुलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुहुदैँ उहाँले भारतीय सीमा क्षेत्रका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुरक्षाकर्मीको काम नागरिकलाई सुरक्षा दिने भएको हुँदा दुःख दिने काम नगर्न उहाँले निर्देशन समेत दिनुभएको छ ।

नेपाली सवारी साधनको आवागमनलाई सहज बनाउने विषयमा पनि छलफल गरेर आवश्यक निस्कर्ष निकाल्ने उहाँले आश्वासन दिनुभएको छ । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, पश्चिम चम्पारण बगाहा पुलिस जिल्लाका जिल्ला अधिकारी दिनेश कुमार राई, पर्सा प्रहरी उपरिक्षक कोमल बिक्रम शाह लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार