Logo

३ वैशाख, वीरगञ्ज । वीरगञ्जको सिमावर्ती शहर रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

रक्सौल-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकर रेलवे कर्पोरेसन लिमिटेडले बैशाखको १५ गते भित्र अन्तिम डीपीआर तयार पारिसक्ने बताइएको छ ।

रक्सौल-काठमाडौं रेलमार्गको डिपिआर तयार भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी गर्नुभएको छ । प्रधानमन्त्रीको भारत भ्रमणमा रक्सौल काठमाडौं विद्युतीय रेलमार्गलाई मुख्य एजेण्डा बनाइएको छ ।

भारतको रक्सौलबाट वीरगञ्ज, डुमरवाना हुदै मकवानपुरबाट सिधै ललितपुर निस्कने गरी रेलमार्गको डिपिआर तयार गरिएको स्रोतको भनाई छ । भारतीय पक्षले समेत रेलमार्गलाई विशेष चासोको रुपमा लिएको बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा कूटनीतिक र अनौपचारिक स्तरबाट भएका छलफलले एजेन्डाहरू तयार पारेको र त्यसमध्ये सबैभन्दा प्राथमिकतामा रक्सौल–काठमाडौँ रेलमार्गलाई अघि बढाउने विषय रहेको कूटनीतिक स्रोतले जनाएको छ । ‘भ्रमणलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने भारतीय पक्षको भनाइ थियो ।

त्यसका लागि दुई देशबीच कूटनीतिक र अनौपचारिक स्तरमा धेरै विषयमा छलफल भइरहेको छ । भारतले मुख्य गरी रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग निर्माण कार्यलाई अघि बढाउने विषय प्राथमिकतामा राखेको छ,’ स्रोतले भन्यो, ‘डीपीआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको र वैशाखको दोस्रो सातासम्म बुझाउने भन्ने भएपछि त्यसैलाई भ्रमणको मुख्य आकर्षण बनाउने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ ।’

प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ । नेपालले यो परियोजनालाई अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । यस विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र सम्झौताका क्रममा भारतले आर्थिक मोडालिटीका बारेमा स्पष्ट पार्ने सम्भावना छ । भारतले यसैलाई ‘अर्थपूर्ण सम्झौता’ का रूपमा प्राथमिकतामा राखेको छ ।

नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रचण्डले भारत भ्रमणमा जान चासो देखाइरहेका थिए । तर, भारतले भ्रमणमा पर्याप्त गृहकार्य गर्नुपर्ने भन्दै औपचारिक निमन्त्रणा दिएको थिएन । यद्यपि, भ्रमणको तयारी स्वरूप दुवै पक्षले निरन्त छलफल भने गरिरहेका थिए । भारतले महत्वपूर्ण परियोजनामा काम अघि बढ्ने गरी भ्रमणलाई अर्थपूर्ण बनाउनु पर्ने भन्दै आएको थियो ।

यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपालको दुई दिने भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा ‘क्वात्राको भ्रमणमा प्रस्तावित काठमाडौं–रक्सौल रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रत रूपमा अगाडि बढाउने सहमति भएको’ उल्लेख थियो ।

परियोजनालाई अघि बढाउने भनिए पनि यसको आर्थिक मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति हुन सकेको थिएन । क्वात्राले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग यस विषयमा छलफल गरेका थिए ।


सम्बन्धित समाचार