Logo

४ बैशाख, पर्सा । बिहारमा मदिरा सेवनमा प्रहरीले प्रतिबन्ध लगाएपछि मदिरा सेवन गर्न सीमावर्ती नेपाली बजारमा आउने भारतीयको संख्या दिनप्रतिदिन बढदै गएको छ । सीमा क्षेत्रका बजारमा मदिरा पसल र होटेलहरु खुल्ने क्रम पनि बढ्दै गएको हो ।

भारतीय नागरिकको बाक्लो उपस्थिती देखिने सीमा क्षेत्रका होटलमा जघन्य अपराधका अभियुक्त र गुण्डागर्दीमा संलग्नहरू रहेका व्यक्तिहरु समेत आउने प्रहरी स्रोतको भनाइ छ ।

बिहारमा मदिरा प्रतिबन्धित हुनुपूर्व पर्साको सीमा अन्र्तगत पर्ने भारतीय बजार भिस्वा, जानकीटोला, दसावता, पिपलडाडी, महादेवपट्टीको बलुवा, सुवर्णपुर, बाघमोर्चा, बिजयबस्ती, ठोरीको निर्मलवस्ती लगायतका स्थानमा अत्याधिक मात्रामा मदिरा बिक्री हुने स्थानीयको भनाई छ । जिराभवानी गाउँपालिकाका स्थानीयले भारतीय नागरिकले यस क्षेत्रका होटलहरुमा आएर मदिरा सेवन गरि झैझगडा गर्ने गरेको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरिले खुला सीमाकै कारण भारतबाट मदिरा पिउन आउनेलाई नियन्त्रण गर्न समस्या भएको बताउनुभयो । मदिरा र त्यसले निम्त्याउने विभिन्न विकृति र आपराधिक घटनाबारे आफूहरू गम्भीर रहेको उहाँको भनाई छ ।

भारतिय प्रहरी र सुरक्षा अधिकारीहरूबीच हुने गरेको औपचारिक बैठकमा मदिरा र आपराधिक गतिविधि नियन्त्रणबारे छलफल तथा निगरानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सीमा क्षेत्रको पाँच सय मिटरभित्र मदिरा खरिद बिक्रीमा रोक लगाएको उहाँको भनाई छ । अवैध व्यापारलाई रोक्न गस्तीसमेत गर्ने गरेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

अवैध तरिकाले खुलेका मदिरा पसल तथा होटलहरुले एकदिनमा हजारौँको व्यापार गर्ने गरेका छन् । जानकीटोलका एक व्यापारीका अनुसार नेपालबाट भारततर्फ दैनिक ५० हजारसम्म्को मदिरा बिक्री हुने गर्दछ । भारतिय नागरिकहरु मदिराको नसा नझरेसम्म नेपालमै बास बस्ने उहाँको भनाई छ ।

बिहारमा मुख्यमन्त्री नितिश कुमारले २०१६ साल अप्रिल १ तारिकदेखि बिहारमा मदिरा बिक्री तथा सेवनमा रोक लगाउनुभएको थियो । त्यसलगत्तै भारतिय प्रहरीले पनि मदिरा सेवन गर्नेमाथि कडाई थालेको हो । लुकिछिपी मदिरा सेवन गर्नेलाई कानुन बमोजिम ५ देखि १० वर्ष जेल सजाय वा एक लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

भारतीय प्रहरीले पक्राउ परेकालाई धमाधम जेल पठाउन थालेपछि बिहारबाट मदिरा सेवनकै लागि नेपाल भित्रिनेको सङख्या बढेको हो ।


सम्बन्धित समाचार