५ बैशाख,पोखरिया । पर्साको पोखरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कार्यसम्पादनमा समस्या भएको छ । यसअघि नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवलाई नगरप्रमुख प्रद्युम्न चौहानले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम गराई रहेको थियो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव तहलाई खटाउने नियम बनाएर पठाएको धर्मदेव जोशीलाई नगर प्रमुख प्रद्युम्न चौहानले काम गर्न नदिएर फिर्ता पठाएका छन् ।
आफ्नो अनुकूलतामा काम गर्न अजय श्रीवास्तवलाई निमित्तको जिम्मा दिनका लागि नगर प्रमुख चौहानले जोशीलाई कामै गर्न नदिएपछि चैत १३ गते धर्मदेव जोशी यहाँबाट फिर्ता भएको स्रोतले जनाएको छ ।
फागुन १० गते हाजिर हुन आउनुभएका प्रमुख प्रशासकीय अधिकृत धर्मदेव जोशी चैत १३ गते यहाँबाट जानुभएको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उहाँको सरुवाको बारेमा कुनै जानकारी नै दिईएको छैन । प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नपाउँदा अहिले नगरपालिकाको सम्पूर्ण कारोबार बन्द रहेको छ ।
कारोबार बन्द हुँदा सामाजिक सुरक्षा भत्ता, कर्मचारी, शिक्षकहरुको तलब, विकास निर्माणका कामको भुत्तानी सबै रोकिएका छन् । जनताको सेवा गर्न जिताएर पठाएको जनप्रतिनिधिले जनताको काम गर्नका लागि आफूले भनेको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन खोजेपछि समस्या उत्पन्न भएको हो ।