Logo

फाइल तस्बिर

५ बैशाख, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले आउँदो आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने भएको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलका अनुसार आउँदो आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि समयमा बजेट विनियोजन गर्न सम्बन्धित निकायसँगको छलफलपछि निर्णय भएको छ ।

बजेट समयमा विनियोजन नहुँदा हरेक वर्ष रासायनिक मलको कमी हुने गरेको उहाँको भनाइ छ । मल अभाव हुन नदिन आउँदो वर्षका लागि चाहिने बजेट समयमा विनियोजन गर्न सरोकारवाला निकायलाई बेलैमा जानकारी गराएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

मल वितरण निर्देशिका अनुसार लिमिटेडले पाँच हजार तीन सय सहकारी संस्थामार्फत् पालिकाबाट मल बिक्री वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले ३० प्रतिशत र कृलिमिटेडले ७० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । यस आर्थिक वर्ष किसानलाई रासायनिक मल बढीमा सात लाख मेट्रिक टन र कम्तीमा पाँच लाख मेट्रिक टन आवश्यक छ ।

चार लाख मेट्रिक टन आउने क्रममा रहेको तर समयमा बजेट विनियोजन नभएका कारण एक लाख मेट्रिक टन कमी हुने देखिएको लिमिटेडका प्रबन्ध सञ्चालक पोखरेलले बताउनुभयो । अहिले कृषि सामग्री कम्पनी लिमिटेडमा एक लाख मेट्रिक टन रासायनिक मल मौज्दात रहेको र अरू आपूर्ति गर्नका लागि टेण्डर खोलिएको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा झण्डै एक लाख ७७ हजार पाँच सय छ मेट्रिक टन आपूर्ति गरेकोमा यो आर्थिक वर्षमा अहिलेसम्म खरिद र टेण्डर भएको जम्मा तीन लाख २४ हजार मेट्रिक टनमध्ये एक लाख ३८ हजार एक सय टन भित्रिएको र एक लाख ३६ हजार छ सय टन बिक्री वितरण भएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।

भारत सरकारबाट खरिद भएको युरियामध्ये आठ हजार दुई सय मेट्रिक टन प्राप्त भएको र २१ हजार आठ सय मेट्रिक टन आउने क्रममा रहेको छ । एक लाख २३ हजार मेट्रिक टन सम्झौता भएको र ४० हजार मेट्रिक टन टेण्डर भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार