Logo

तस्विर : विशाल पटेल

५ बैशाख, वीरगञ्ज  । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट पुष्टि भईसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिमेकी मूलुक भारतमा देखिएको ओमिक्रोन एक्सबीबी ११६ पुष्टि भएको हो । देशभर कोरोना संक्रमणको संख्या तीन अंकमा पुग्दा वीरगञ्जमा भने शून्य देखिएको छ ।

नेपालमा कोरोना संक्रमणको हटस्पटको रुपमा २०७७ सालमा चिनिएको वीरगञ्जमा यतिवेला भने संक्रमित फेला परेका छैनन् । सीमानामा कडाई गरिएको र वीरगञ्जका अस्पतालमा आउनेहरुमा कोरोना संक्रमण भएको लक्षण नदेखिएकोले परिक्षण नभएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखाका प्रमुख रितेश जयसवालले बताउनु भयो ।

गर्मी बढेसँगै कारोनाको संक्रमण समेत बढ्दै जाँदा विशेष गरि भारतसँग सिमा जोडिएका शहर तथा गाउँहरुमा बढी जोखिम हुने गर्दछ । नेपालको मुख्य प्रवेशद्धार वीरगञ्ज–रक्सौल भएकाले यहाँ कोरोनाको जोखिम अन्य जिल्लाहरु भन्दा बढी देखिन्छ ।

यता छिमेकी मित्र राष्ट्र भारतमा समेत कोरोना सङ्क्रमणको चाँप बढेसँगै नेपालमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ । पहिलो र दोस्रो लहरमा कोरोनाको हटस्पट बनेको वीरगञ्ज शहरमा नयाँ भेरिएन्ट भित्रिनू पूर्व नै नाकामा हेल्थ डेस्क स्थापना गरि कोरोना परिक्षणलाई तिव्र पारिएको छ ।

नाकामा स्थापित हेल्थ डेस्कले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७७/०७८ मा ३६२५ जनाको कोरोना परिक्षण गरिएकोमा १९५ जनामा सक्रंमण पुष्टि भएको थियो । त्यस्तै ०७८/०७९ मा ३७९४५ जनामा परिक्षण गरिएकोमा ६४२ जना सक्रिय संक्रमित थिए । ०७९/०८० मा मात्रै २५२०३ जनाको परिक्षण गरिएकोमा १०१ जनामा संक्रमण पुष्टि भएको वीरगञ्ज महानगरपालिकाले तयार पारेको तथ्याङकमा उल्लेख छ ।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट आउने नागरिकहरुलाई कोभिड परिक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिईने हेल्थ डेस्क ईन्चार्ज डाक्टर अनिषा महतोले बताउनुभयो । उहाँका अनुसार गत बिहिबार परिक्षणकै क्रममा दुईजना भारतिय पर्यटकमा कोरोना सक्रंमण पुष्टि भएको थियो ।

प्रमुख महतोले भारतको कलकत्ताबाट नेपाल आएका उनीहरुमा ¥यापिड टेस्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएपनि पिसिआर परिक्षण गर्न आवश्यक सल्लाह सुझाव दिएर पुनः भारत नै फिर्ता पठाइएको महतोको भनाई छ ।

सोही दुईजना भारतिय नागरिकमा सङ्क्रमण पुष्टि भएसँगै आफूहरु समेत थप सतर्क भएको महतोले जानकारी दिनुभयो । उहाँका अनुसार नाकामै विशेष स्वास्थ्य सर्तकता अपनाएर दैनिक २ सय देखि ३ सय सम्म नागरिकको हेल्थ डेस्कमा कोरोना परिक्षण गरिन्छ ।

विशेष भारतबाट आउने पर्यटक र लामो समयसम्म सो क्षेत्रमा बसोबास गरेर फर्किएकाहरुलाई प्राथमिकतामा राखेर परिक्षणलाई तिव्र पारिएको उहाँले जिकिर गर्नुभयो । त्यस्तै भारतका विभिन्न ठूला शहरहरुबाट रक्सौल हुँदै आउने ट्रेनका यात्रुहरुलाई परिक्षणको दयारमा ल्याउने प्रयास भइरहेको उहाँको तर्क छ ।

हाल दैनिक रुपमा भारत–नेपाल ओहोरदोहोर गर्नेहरुलाई भने परीक्षणका लागि प्राथमिकतामा नराखिएको प्रमुख महतोको भनाई छ । भारतको विभिन्न शहरमा पुगेर नेपाल फर्कने नेपालीलाई समेत परिक्षणको दायरामा राखिएको छैन । अहिले नेपाल घुम्न आएका भारतीय वा रक्सौल नाका भएर नेपाल भित्रने तेश्रो मुलुकका नागरिकको मात्र कोरोना परिक्षण गरिएको छ ।

यता कोरोना संक्रमण पुष्टि भएकाहरुलाई समयमै अस्पतालमा वा होम आईसोलेशनको लागि रिफर गरिने महानगरका प्रमुख राजेशमान सिंहले बताउनु भयो । उहाँका अनुसार कोभिडको संक्रमण बढने अवस्था देखिएमा महानगरपालिकाले आइसोलेशन र गम्भीर प्रकृतीका कोभिड संक्रमितहरुको उपचारको प्रवन्ध मिलाउने गरी पूर्वतयारी अवस्थामा रहेको जानकारी दिनु भयो ।

नेपालमा पहिलो पटक कोरोना हटस्पटको रुपमा रहेको वीरगञ्जमा भने यसपटक अन्य जिल्लामा जस्तो संक्रमितको संख्या नरहेको मेयर राजेशमान सिंहले बताउनु भयो । नाकामा कडाइका साथ चेकजाँच भइरहेको छ, कोभिड संक्रमित विरामी वीरगञ्जमा भेटिएको सूचना मलाई छैन मेयर सिंहले भन्नु भयो ।

नारायणी अस्पतालमा कोभिड परिक्षणका लागि दुईवटा मेशिन चालु अवस्थामा रहेको तर अहिले कुनै विरामीको परिक्षण नभएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चित्ररंजन साहले बताउनु भयो ।

नेपालीहरुमा ¥यापिड टेस्ट गर्दा सङ्क्रमण पुष्टि भए पिसीआर परिक्षणको स्वाब सङ्कलन गर्ने किटसमेत व्यवस्था गरिएको छ । स्वाब सङ्कलन गरेर थप परिक्षणको लागि नारायणी अस्पताल पठाइने र सङ्क्रमितलाई आइसोलेट गर्ने तयारी समेत रहेको उहाँले बताउनुभयो ।

सून्यमा झरेको सङ्क्रमितको सङ्ख्या पछिल्लो समय दुईदेखि तिन अङ्कसम्म पुग्ने गरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सोमबार मात्रै १०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

बढ्दो गर्मी मौसमसँगै विभिन्न जिल्लामा कोरोना सक्रंमण समेत तिव्र रुपमा फैलिएकाले यसबाट बँच्न चिकित्सकहरुले समयमै सर्तक रहन आग्रह समेत गरेका छन् ।


सम्बन्धित समाचार