Logo

५ बैशाख, वीरगञ्ज । मूलुकमा गणतन्त्र आएको पनि डेढ दशक हुन लाग्यो । निम्न वर्गीय जनताको लागि आएको गणतन्त्रमा नेताको जीवन स्तरमा आमूल परिवर्तन भयो तर जनताको झन कहाली लाग्दो अवस्थामा छ । अहिले पनि देशमा भूमिहिन दलित र मुसहरले ज्यान पाल्न समेत धौ धौ परेको छ ।

बाराको बारागढी गाउँपालिका–२ स्थित दौर्वाका मुसहर जातीले बस्तीको मुहार करिब ३ पुस्तादेखि नफेरिएको गुनासो गरेका छन् । उनीहरुले न त खेती किसानी गर्न जग्गा नै भएको न त देशमा नयाँ सरकार आएपनि आफूहरुको जिवनयापनमा केहि परिवर्तन आएको भन्दै गुनासो गरेका हुन् ।

फुसको खरले छाएको छाप्रोमा आफ्नो गुजारा गर्दै आईरहेकी स्थानिय ३९ बर्षीय चनरकलिया देवि माझीले खेती गर्न एक ईन्च जग्गा समेत नभएको गुनासो गर्नुभयो । मुसहर बस्तीमा गर्मीमा एउटा पंखा समेत नचल्ने बताउनुहुदैँ उहाँले ज्यालामा काम गरेबापत घरचल्ने उल्लेख गर्नुभयो । निर्वाचनको समयमा नाता गास्ँदै घरघरमा आउने नेताहरुले समेत जितेपछि ध्यान नदिने उहाँको आरोप छ ।

करिब ४० घरधुरी मुसहर रहेका उक्त बस्तीमा मुसहरुका लागि छुट्टै साझा धारा, छुट्टै शौचालय र छुट्टै पाहुना घरको व्यवस्था गरिएको छ । उनीहरुले छोएको पानी बस्तीका कसैले पनि नपिउने भन्दै गाउँपालिकाले नै धाराको व्यवस्था गरेको हो ।

यता गरिबका लागि केन्द्रिय सरकारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको समेत ल्याएको थियो । तर वडाध्यक्ष र गाउँपालिका अध्यक्षकै आपसी मनमुटावका कारण अहिलेसम्म पनि त्यो रकम व्यवस्थित हुन भने सकेन् ।

गाउँपालिका अध्यक्ष जसपाका अशोक जयसवाल र बारागढी–२ का वडाध्यक्ष नेपाली काग्रेंस पार्टीबाट जोगिन्दर साह कलवार हुन् । जसको चपेटामा अहिले गाउँवासी नै पिसिएका छन् । एकअर्कालाई आरोप प्रत्यारोप गरेर उनीहरु बिकासको नाममा खेल खेलिरहेको स्थानियको भनाई छ ।

यस विषयमा बुझ्दा गरिब निमुखा जनताको परिचय पत्र बनाउने काम भईरहेको बताउनुहुदैँ अध्यक्ष जयसवालले ऐलानी भूमि नभएकै कारण मुसहरलाई कहाँबाट जग्गा दिन सकिन्छ भनेर खोजिरहेको जानकारी दिनुभयो । आवासकै लागि दुई करोड रुपैँया बजेट मागेको उहाँको भनाई छ ।

पाँच वर्षमा मुसहरको अनुहारमा हाँसो ल्याउने गरी काम गर्ने अध्यक्ष जयसवालको प्रतिबद्धता छ । उहाँका अनुसार अहिले जो जहाँ बसेका छन्, त्यही ठाउँमा उनीहरुका लागि कति सकिन्छ, त्यति नै सहयोग गर्ने हो । उहाँले अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडाबाट समावेश भएका नामको आफूले विस्तृत अध्ययन गरिरहेको र त्यो कोटामा मुसहरलाई नै प्राथमिकतामा राखेको बताउनुभयो ।

यता मुसहर जातीकै लागि बासबस्ने ठाँउ निर्माणका लागि गाउँपालिका अध्यक्ष जयसवाल गम्भिर नभएको वडाध्यक्ष कलवारको आरोप छ । जयसवालले विद्यालयमा करारमा राखेका व्यक्तिबाट समेत पैसा असुलेर काममा लगाउने, विद्यालय निर्माणमा कमिसन माग्ने, बाटो निर्माणमा कमिसन माग्ने जस्ता कार्यले उनीसँग दुरी बढेको वडाध्यक्ष कलवारको भनाई छ ।

त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रतिनिधिसभातर्फ बारा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता अच्युत मैनालीले मुसहरको आवासका लागि प्रयास गरिरहेको बताउनुभयो । सांसद मैनालीले आफ्नो निर्वाचन क्षेत्रमा धेरै मुसहर, दलित बस्ती रहेकाले उनीहरुको उत्थानका लागि प्रदेश र केन्द्र सरकारसँग लागातार समन्वय गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार मेयर र गाउँपालिकाका वडाध्यक्षहरुबीच तालमेल नहुँदा काम अगाडि बढ्न नसकेको हो । मधेशमा दलहरुले राजनीतिकीकरण गर्नाले नै समयमा काम गर्न नसकिने उहाँको दाबी छ ।

राजनीतिक खिचातानीका कारण अघिल्ला योजना पारदर्शी र आर्थिक नियमावलीलाई अनुशरण नगरेकाले काम धेरै अधुरो रहेको सांसद मैनालीले बताउनुभयो । विगतमा कोरोनाको समयमा सेनाले बनाईदिएको आवास गृह पछिमात्र सञ्चालनमा आएको उहाँको तर्क छ ।

मुसहर बस्तीमा शिक्षा, खानेपानी र स्वास्थ्य लगायत अन्य विभिन्न समस्या पनि निकै रहेको उहाँले जानकारी दिनुभयो । मुसहर र दलितको आवासका लागि केही दिनमै बैठक बस्ने तयारी भइरहेको उहाँको भनाई छ ।


सम्बन्धित समाचार