Logo

६ वैशाख,वीरगञ्ज । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । बालबालिकाहरूलाई वैशाख ६ र ७ गते अर्थात् आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अनुसार पर्सामा पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने तयारी पूरा गरेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । पर्साको १४ वटै स्थानीय तहका झण्डै ८० हजार बालबालिकाका लागि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालयका भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमका श्रोतव्यक्ति बालकिशोर यादवले बताउनुभयो ।

पर्सा जिल्लामा ९० लाख भिटामिन ‘ए’ र १ लाख जुकाको औषधि आपूर्ति गरिसकिएको उहाँले बताउनुभयो । मन्त्रालयले आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज खान छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिन्छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई भिटामिन ए खुवाइने छ ।

यसैगरी १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ । बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ए र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ ।

 


सम्बन्धित समाचार