६ बैशाख, वीरगञ्ज । यही बैशाख १० गते हुने उपनिर्वाचनकाको अब ४ दिन बाँकी रहँदा बारा प्रतिनिधि सभा क्षेत्र नम्बर–२ का उम्मेदवारहरु मतदातालाई आफूतिर तान्न अन्तिम कसरत गरिरहेका छन् ।
गत वर्षको मंसिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादव विजयी हुनुभएको थियो । तर यादव गत चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सो क्षेत्रको उपनिर्वाचनलाई निकै चासोका साथ हेरिएको पनि छ । बारा २ मा साना दल र स्वतन्त्रबाट उम्मेदवारी परेपनि मुख्य प्रतिस्पर्धा ४ दलकै रहने आँकलन गरिएको छ । जसपाका अध्यक्ष समेत रहनुभएका उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट नेपाल प्रहरीका पूर्व डिआजी रमेश खरेल र सीके राउत नेतृत्वको जनमत पार्टीबाट शिवचन्द्र कुसवाहाविच नै प्रतिस्पर्धा रहेको छ ।
उनीहरुले मतदाता तान्न बिभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । बैशाखको यो गर्मीमा पनि उम्मेदवारहरु मतदाताका घर घरमा पुगेका छन् ।
यसैविच निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा मदिरा विक्री वितरण तथा ओसार पसारमा रोक लगाईएको छ ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको हिजो बसेको बैठकले गएरातिदेखि मदतान गर्ने दिन बैशाख १० गते राति १२ बजेसम्म जिल्लाभर मदिरा उत्पादन, विक्री वितरण र ओसार पसारमा पूर्ण प्रतिबन्ध लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उल्लेखित अवधिभर मदिरा बिक्रीवितरण, ओसार पसार गरेको पाईएमा प्रचलित कानून अनुसार कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाराका प्रक्ता प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
यस्तै आउँदो १० गते हुने उपचुनावमा सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मतदाताको परिचयपत्र हराए वा नासिएको अवस्थामा सरकारी परिचय पत्रका आधारमा पनि मतदान गर्न पाइने व्यवस्था गरेको हो ।
आयोगले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको वा नासिएको अवस्था भए परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । आउँदो १० गते बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।