Logo

६ बैशाख, वीरगञ्ज । केही सातादेखि गर्मी बढ्दै जाँदा तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ । बारा पर्सा लगायत मधेशका अधिकांश स्थानहरुमा खरबुजाको व्यापार बढ्न थालेको हो ।

पर्साको भिश्वा, नगवा, माईस्थान लगायत चोकचोकमा खरबुजा किन्ने मानिसहरुको उल्लेख्य भिड देखिन्छ । तराईका भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर केहि भएपनि आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका देखिन्छन् ।

यहाँका व्यापारीहरु प्रतिकेजी ४० देखि ५० रुपियाँसम्म खरबुजा बिक्री गर्ने गर्दछन् । खरबुजाले शरिरमा शितलता प्रदान गर्ने भएकाले गर्मीयाममा यसको व्यापार बढि हुन्छ ।

वीरगञ्ज महानगर–१६ नगवाका खरबुजाका थोक व्यापारी ज्योति साहले भारतको विभिन्न सथानबाट खरबुजा मगाउने बताउनुभयो । उहाँले भारतबाट ल्याउदाँ जिएचटी, गाडीभाँडा लगायत अन्य शुल्क तिरेर २८ रुपैँया प्रतिकिलोको दरमा मगाउने जानकारी दिनुभयो ।

विगत ३० वर्षदेखि फलफूल बेच्दै आएका खुद्रा व्यापारी वीरगञ्ज महानगर–७ का लड्डुबाबुले सिजन अनुसारका फलफूल बेच्ने गरेको जानकारी दिनुभयो । उहाँले घण्टाघरस्थित विपी उद्यानबाट प्रतिकेजि ३५ देखि ३७ रुपैँया किलोमा खरबुजा किनेर ल्याउने गरेको बताउनुभयो ।

आफूले ४० देखि ५० रुपैँयामा प्रतिकेजिको दरले राम जानकी मन्दिरस्थित सडक छेउमा खरबुजा बेच्ने गरेको उहाँको भनाई छ । उहाँका अनुसार खरबुजाको पनि पाँच प्रकार हुन्छ ।

किरण, मंसुरी, आस्ता, सरस्वती र रामधारी खरबुजाका प्रकार हुन् । गर्मीयाम सुरु भएसँगै खरबुजा बेचेर नै दैनिक ४ हजारदेखि ५ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै अर्का व्यापारी वीरगञ्ज–७ कै ईस्लाम अन्सारीले थोकमा खरबुजा खरिद गर्दा आफूलाई ३० देखि ३५ रुपैँयासम्म पर्ने बताउनुभयो । एक केजीमा १०/१५ रुपियाँ जति राखेर बिक्री गर्ने उहाँको भनाई छ ।


सम्बन्धित समाचार