९ वैशाख, वीरगञ्ज । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुस्लिम धर्मावलम्बीले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ ।
एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुस्लिम धर्मावलम्बीहरु दिनमा निराहार बस्छन् । बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालुहरु साँझ सूर्यास्त भएपछि ‘ईफ्तार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।
रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४४ हो भने रमजान महिना नवौं महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भन्ने जनविश्वास छ। यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
दान दिनु ,गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु रमजान महिनाको ठूलो विशेषता हो । रमजानामा ब्रत बस्नेले ईदको अघिल्लो दिन साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा देखिएपछि अत्यधिक खुशी हुने र एकआपसमा इदको शुभकामना सटासाट गर्ने प्रचलन रहँदै आएको छ ।
रमजान महिना मुसलमानका लागि निकै महत्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने विश्वास छ। इदुलफित्र मनाउनका लागि आज मुस्लिम धर्मावलम्बीले ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।
यता वीरगन्जमा पनि मुस्लिम धर्मावलम्बीले पनि आज निक्कै हर्षाेल्लाशका साथ ईदुलफित्र पर्व मनाउँदै छन् । छपकैया, इनर्वा, मुर्ली, श्रीपुर , बहुअरी लगायत मुस्लिमहरुको बाहुल्यता रहेको टोलहरुमा आज ईदुल फित्रको अवसरमा रौनक देखिएको छ। साभार मधेसखबर