Logo

१० बैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरेर नेकपा बनाउने अभियान सुरु हुने बताएका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीले नेकपाको ७५औं स्थापना दिवसको अवसरमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावना विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ’, प्रचण्डले भने, ‘नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुर्नजिवित गर्न चाहान्छौ ।’

प्रधानमन्त्री समेत रहेका प्रचण्डले विगतका अनुभवबाट शिक्षा लिएर फेरि पनि कम्युनिस्ट आन्दोलनलाई सही विचार र नीतिका आधारमा एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्ने त्यसतर्फ काम भइरहेको समेत बताए ।

‘रुपान्तरण नयाँ आधारमा नयाँ एकता । अहिले पनि एकताकै पक्षमा धु्रविकरणकै पक्षमा छौ’, प्रचण्डले भने, ‘हामी नेकपातिर नै फर्कनुपर्छ । कम्युनिस्ट पार्टी र नेतृत्वलाई चाबी भन्ने गरिन्छ । हो पनि । नेतृत्वले नै गलत विचार अंगिकार गर्यो भने ठुलो क्षति हुन्छ । त्यो अन्तर्राष्ट्रिय र आफ्नै आँखा अगाडी पनि देख्यौ ।’

प्रचण्डले २०७४ मा आफूले नै एकताको प्रस्ताव गरेको भन्दै राष्ट्रिय स्वाधीनता र एकता तथा जनजीविकाका साथै गणतन्त्र सुदृढ गर्न पनि कम्युनिस्टहरू एकता हुन जरुरी रहेको बताए ।

सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौति र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए ।

उनले भने, ‘ छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर हामी प्रस्तुत हुन गईरहेका छौं । त्यसका निम्ति हामी अरु समूहहरुसँग पनि कुरा गर्दै, गर्दै जानेछौं । सहभागी हुन चाहनेहरुलाई समाजवादी मोर्चामा आवद्ध गरिनेछ ।

अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं ।’

‘आज म फेरि यो अवसरमा सबै कमरेड मित्र तथा कम्युनिस्टहरुलाई अहिले पनि देशको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताका लागि एकता जरुरी छ । आउनुस् बसौ, समीक्षा गरौँ र एकताको पहल सुरु गरौँ त्यसले मात्र हामी कम्युनिस्ट आन्दोलनप्रतिको इमानदारिता हुन्छ’, प्रचण्डले भने, ‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने छ र त्यो मोर्चाले नेकपातिर फर्कन सबैलाई अपिल गर्नेछ ।’

उनले यसअघिको नेकपा केही नेताको सनकले दुर्घटना भएपनि त्यो एकतालाई पुर्नजिवित गर्नुपर्ने बताए ।


सम्बन्धित समाचार