Logo

११ वैशाख,सेढवा । लामो समयदेखि पानी नपर्नाले तथा बिहान बेलुका चिसो र दिउँसो अत्यधिक गर्मीका कारण पर्साको ग्रामीण भेगका नागरिकमा विभिन्न रोगको प्रकोप बढेको छ ।

यस क्षेत्रको जिराभवानी, ठोरी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाँउपालिकाका नागरिकहरु विभिन्न रोगहरुबाट संक्रमित हुदैँ गएकाले प्रकोप बढेको हो । मौसाम परिवर्तन भएको कारण झाडापखाला, भाइरल ज्वरो, रुघाखोकी, छालाका रोग तथा आँखाको समस्याबाट ग्रसित भएका बिरामी बढेका छन् ।

पटेर्वासुगौली गाउँपालिका–२ मा संचालनमा रहेको शिवम लेयर्स फारम प्रा.लिका कारण सो क्षेत्रमा यी रोगका बिरामीहरुको संख्यामा झनै वृद्धि भएको मकवानी टोलका स्थानीय बिगा महरा चमारले बताउनुभयो । फारम आसपास रहेका आधा दर्जनभन्दा बढि बस्तीका घरै पिच्छेका मानिसहरुमा रोग बढेकाले महामारी नै रहने जोखिम देखिएको उहाँको गुनासो छ ।

यता पटेर्वासुगौली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले वातावरण नै प्रदूषित भएकाले सो क्षेत्र बढि प्रभावित भएको बताउनुभयो ।

स्वास्थ्य सम्बन्धि सेवा तथा औषधी वितरणमा भने कुनै कमि नगरेको उहाँको भनाई छ । यस्तै ठोरी गाउपालिका वडा ५ का सुवर्णपुर स्वास्थ्य चौकीका बिमल घलेका अनुसार यस क्षेत्रमा समेत यस्ता रोगहरुका बिरामी बढेका छन् ।


सम्बन्धित समाचार