Logo

१२ बैशाख, वीरगञ्ज । बारा २ को उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । महागढीमाई नगरपालिकाको मत गणना भइरहँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले २० हजार ४६३ मतका साथ अग्रता कायम राख्दा जनमतका कुशवाहाले १७ हजार ७९८ मत पाएका छन् ।

आज मध्यान्हसम्म उपेन्द्रले ५ हजार बढी मतले लिड गरेका थिए । तर, अहिले उनीहरुबीच २ हजार ६६५ मतको मतान्तर देखिएको छ । महागढीमाई नगरपालिकामा जनमतका उम्मेदवार कुशवाहाले बढी मत ल्याएपछि मतान्तर घटेको हो ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ६ हजार १२१ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार ४६६ मतका साथ चौथो स्थानमा संघर्षरत छन् ।

अहिले महागढीमाई नगरपालिकाको वडा नं ६ को मतगणना अन्तिम चरणमा पुगेको छ । महागढीमाई नगरपालिकामा जनमतका उमेदवार शिवचन्द्र कुशवाहाको आफ्नै गाउँ भएकोले उनको प्रभाव बढी पर्ने अनुमान गरिएको छ । यता अनुमान गरेभन्दा राम्रो मत आएको कुशवाहाले बताएका छन ।

बाराको अव महागढीमाई नगरपालिकाका केही वडा र पचरौता नगरपालिकामा गणना गर्न बाकी छ । महागढीमाईमा जनमतले जसपाका उमेदवार उपेन्द्र यादवलाई बराबरको स्थितीमा ल्याउन सके यादवले पराजय भोग्न सक्ने अनुमान गरिएको छ ।

अव मत गणना हुने क्षेत्रमा नेकपा एमाले र जनमतको प्रभाव क्षेत्र भएकोले यादव संकटमा पर्ने खतरा बढेको हो ।


सम्बन्धित समाचार