Logo

१३ बैशाख, सेढवा पर्सा । गर्मी बढेसँगै पर्साको ग्रामीण भेगमा सर्पको डसाईबाट घाईते हुनेहरु मानिसहरुको सङख्यामा वृद्धि भएसँगै ठोरीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रको सेवा प्रभावकारी सावित हुँदै गएको छ ।

गत चैत्र महिनादेखि हालसम्म ६ जना सर्पको डसाईबाट नै घाईते भई उपचारको लागि केन्द्रमा आएको र उपचार पश्चात ठिक भएर फर्किएको बताईएको छ । केन्द्रले दिएको तथ्याङक अनुसार अधिकांश जिराभवानी गाउँपालिकाका मानिसहरु सर्पको डसाईबाट घाईते भएर उपचार गराउन आएका छन् । त्यस्तै जगनाथपुर, ठोरी तथा पटेर्वासुगौली गाउँपालिकाका स्थानियहरु डसाईबाट उपचार गराउन आउने तथ्याङकमा उल्लेख छ ।

यसका साथै वीरगञ्जको नारायणी अस्पताल, बाराको कलैया, चितवनको माडी नगरपालिकाका अस्पतालहरुबाट रिफर गरिएका यस प्रकारका बिरामीहरु समेत उपचारका लागि केन्द्रमा आउने केन्द्रका प्राविधिक प्रमुख पियुष कुमार रानाभाटले जानकारी दिनुभयो ।

ठोरी गाउँपालिका–४ नेपाली सेनाको सिद्धिबक्स गण निर्मलबस्ती पानीट्याङकीस्थित रहेको यस सर्पदंश उपचार केन्द्र ०७६ साल फाल्गुन १८ गते प्रशासनसँग अनुमति लिई फाल्गुन २४ गतेबाट केन्द्रबाट सेवा सुचारु गरिएको हो ।

उपचारका केन्द्र प्राविधिक रानाभाटका अनुसार हालसम्म केन्द्रबाट ४३४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको छ । भने २ जनाको मृत्यु भएको उहाँको भनाई छ । उक्त दुई जना बिरामीलाई निकै ढिलो गरेर केन्द्रमा ल्याईएकाले बचाँउन नसकिएको उहाँले बताउनुभयो ।

केन्द्रमा बिषालु सर्पको टोकाइबाट बिष लागेका, अरिङ्गालले टोकेका तथा बिज्छुले टोकेर बिष लागेका बिरामीलाई निःशुल्क उपचार गर्ने गरिएको प्राविधिक रानाभाटले जानकारी दिनुभयो ।

सर्पदंश उपचार केन्द्रका संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठले आफू पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्ष रहेको समयमा नेपाली सेनाको सम्वन्यमा व्यक्तिगत प्रयासले यसको स्थापना गरेको बताउनुभयो ।

केन्द्रको व्यवस्थापनका लागि ठोरी गाउँपालिकाको कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था बिजयबस्ती तथा अन्य संघ संस्थाले समेत सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सर्पले डसेका घाईतेको उपचारका लागि आवश्यक एन्टीस्नेक भेनम स्वास्थ्य व्यवस्थापन कार्यालय हेटौँडाबाट निशुल्क ल्याउने गरिएको उहाँको भनाई छ ।
केन्द्रको सेवा प्रभावकारी बनाउन तथा व्यवस्थापनमा ठोरी गाँउपालिकाको कार्यालयले सहयोग उपलब्ध गराईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हालै सोलार प्यानलबाट विद्युत आपूर्तिमा समस्या आएपछि गाँउपालिकाले जेनेरेटर जडान गरेको उहाँले बताउनुभयो ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठका अनुसार सर्पदंश उपचार केन्द्र जंगलभित्र रहेकाले सेवाग्राहीहरु आवाजावत गर्न अलमल्लमा पर्ने गर्दछन् । तसर्थ आगामी आर्थिक वर्षमा जगंलसँग जोडेर पक्की भवन निर्माण गरिने उहाँको भनाई छ ।

साथै केन्द्रमा कुनै समयमा चिकित्सक अवस्थामा बिरामी आउने हुदाँ भेन्टिलेटरको व्यवस्था वा आवश्यक परेको समयमा यथाशिघ्र उपलब्ध हुने गरि सोको व्यवस्था मिलाउने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । पर्सा जिल्ला भरिनै ठोरीमा मात्रै सर्पदंश उपचार केन्द्र छ ।


सम्बन्धित समाचार