Logo

१४ वैशाख, काठमाडौं । नेपाल प्रहरीमा काजआतंक छ । ७९ हजार पाँच सय ४१ दरबन्दी रहेको प्रहरीमा झन्डै ४० हजार कर्मचारी दरबन्दीबाहिर छन् । २६ हजारजति संगठनकै आवश्यकताअनुसार काजमा खटिएको प्रहरीको दाबी छ । त्यसबाहेक पनि करिब १४ हजार कर्मचारी शक्ति र पहुँचका आधारमा नियमविपरीत आफूअनुकूल कार्यालयमा दरबन्दीबाहिर बसिरहेका छन् । यसले संगठनलाई नै अस्तव्यस्त बनाएको छ ।

संगठनलाई आवश्यक परेको अवस्थामा बढीमा ६ महिनाका लागि कर्मचारीलाई काजमा खटाउन सकिने प्रहरी नियमावली, २०७१ मा उल्लेख छ । तर, प्रहरी प्रधान कार्यालयले हालै गरेको अध्ययनले १४ हजार नियम मिचेर दरबन्दीबाहिर कार्यरत रहेको देखाएको थियो । जसमध्ये ६ हजार सात सय हेडक्वार्टरले नियमित गर्नुपर्ने अन्तरप्रदेश काजमा रहेका छन् । त्यस्तै, प्रदेश प्रहरी कार्यालयले रवाना गर्नुपर्ने करिब सात हजार प्रहरी काजमा रहेको नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए ।

कडाइका साथ सुधार थालेका छौैँ : दीपेन्द्र जिसी सहप्रवक्ता, नेपाल प्रहरी 

अनावश्यक काजले पुलिसिङलाई असर गर्छ । कतिपय कर्मचारी सरुवा भएको ठाउँमा नजाने प्रवृत्ति पनि देखिएको छ । नियमविपरीत काजमा बसेकाहरूलाई महानिरीक्षकज्यूको निर्देशनअनुसार धमाधम दरबन्दीमा रवाना गरिरहेका छौँ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अन्तरप्रदेशमा नियमविपरीत काज सबैभन्दा धेरै बागमती र लुम्बिनी प्रदेशमा छ । मंगलबारसम्मको तथ्यांकअनुसार बागमतीमा एक हजार ५०, लुम्बिनीमा आठ सय, उपत्यकामा सात सय ६७, मधेसमा पाँच सय ५०, कोसीमा चार सय ४२, गण्डकीमा चार सय ६६, सुदूरपश्चिममा तीन सय तथा कर्णालीमा एक सय ५० जना नियमविपरीत काजमा छन् । यो करिब एक हजार ६ सयलाई रवाना गरिसकेपछिको विवरण हो । मधेस र उपत्यकामा केही महिनाअघि मात्र रवाना गरिएकाले संख्या कम भएको हो ।

नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाबाट प्राप्त विवरणअनुसार तराई र उपत्यकाका जिल्लामा काजको समस्या धेरै छ । पहाडी जिल्लामा भने दरबन्दीभन्दा कम प्रहरी कार्यरत छन् । देशभर प्रहरीका तीन हजार सात सय ११ कार्यालय छन् । त्यसमध्ये दुई हजार ६ सय ६० स्थायी प्रहरी एकाइ हुन् । तत्काल आवश्यकताका आधारमा अस्थायी कार्यालय स्थापना गरी माथिल्लो प्रहरी कार्यालयबाट काजमा प्रहरी खटाएर चलाइएको छ । कतिपय कार्यालयमा भने आवश्यकताकै आधारमा दरबन्दीभन्दा धेरै खटिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा करिब तीन सय प्रहरीको दरबन्दी छ । त्यहाँ साढे चार सय कार्यरत छन् । त्यति हुँदा पनि अझै एक प्रहरीले दिनमा १२ घन्टासम्म ड्युटी गर्नुपर्ने अवस्था रहेको एक अधिकारीले बताए ।

अनावश्यक काज र सरुवा कार्यान्वयन नहुँदा प्रहरीको ड्युटीमै असर पर्नुका साथै नियमित सरुवामा समेत समस्या आएको एसएसपी जिसीले बताए । त्यसलाई व्यवस्थित गर्न केन्द्रसँगै प्रदेशहरूलाई पनि ताकेता भइरहेको उनको भनाइ छ । ‘नियमविपरीत काजमा रहेका र रवाना नबुझेकालाई दरबन्दीमा पठाउने अभियान नै सुरु गरेका छौँ,’ सहप्रवक्ता जिसीले भने, ‘बुधबारसम्म करिब दुई हजार दुई सयजनालाई दरबन्दीमा पठाइसकेका छौँ, अरूलाई चरणबद्ध रूपमा पठाउने प्रक्रियामै छौँ ।’

काजमा कार्यरत प्रहरीको संख्या धेरै हुनुको कारण सरुवाको कार्यान्वयन नहुनु मात्र नभई प्रहरीको अस्थायी कार्यालय धेरै हुनु पनि भएको प्रहरी सहप्रवक्ता जिसीको भनाइ छ । ‘देशभर हाम्रा एक हजार ५१ अस्थायी प्रहरी कार्यालय छन्, त्यहाँ काजमै प्रहरी खटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘कतिपय कार्यालयमा कार्यबोझका आधारमा अन्य कार्यालय थप मद्दत पठाउनुपर्ने भएकाले दरबन्दीबाहिर धेरै देखिएको हो ।’

आवश्यक परेको अवस्थामा ६ महिनासम्म काजमा खटाउन सकिने प्रावधान प्रहरी नियमावलीमा छ । साथै त्यसपछि पनि अत्यावश्यक परेमा नवीकरण गर्न सकिन्छ । तर, कतिपय कार्यालयमा नवीकरण नै नगराई वर्षौँदेखि कार्यरत भेटिएपछि उनीहरूलाई हाल धमाधम दरबन्दीमा पठाउन थालिएको छ ।

गणहरू खाली–खाली, तराइका जिल्लामा भिड
नेपाल प्रहरीमा हरेक प्रदेशमा दुई–दुईवटा गण छन् । गणमा सामान्यतः ६ सय प्रहरीको दरबन्दी हुन्छ । तर, सबै गणमा आधाभन्दा कम जनशक्ति कार्यरत छ । त्यहाँ दरबन्दी भएका नजिकका जिल्लामा काजमा खटिएका छन् । एकातर्फ प्रहरीहरू गणमा बस्न मान्दैनन् भने अर्काेतर्फ फिल्डमा पनि जनशक्ति अभाव हुने भएकाले गणबाट खटाउने गरिएको छ ।

काज दुरुपयोगले संगठन नै बदनाम छ : दिवेश लोहनी पूर्वएआइजी

काजको दुरुपयोग गर्ने समस्याले प्रहरी संगठनलाई नै कमजोर बनाएको छ । लामो समय एउटै कार्यालयमा बस्नेहरू संगठनको आवश्यकताभन्दा व्यक्तिगत स्वार्थमा बसेका हुन्छन्, जसले प्रहरी संगठनलाई नै बदनाम गराएका छन् ।

आकस्मिक अवस्थाका लागि गणलाई रिजर्भ फोर्सका रूपमा लिइन्छ । तर, कुनै आकस्मिक अवस्था पर्दा गणहरूले थोरै मात्र जनशक्ति खटाउन सक्ने अवस्था छ ।

प्रहरीको सरुवा नीति पहुँच नभएकाहरूको हकमा मात्र लागू हुने गरेको छ । पहुँचवाला प्रहरीहरू सधैँ सुगम र आफूअनुकूलको कार्यालयमा खटिँदै आएका छन् । यसले प्रहरीभित्रै पनि असन्तुष्टि छ । पछिल्लो समय प्रहरी नेतृत्वले थालेको अभियान सफल भए प्रहरी संगठन व्यापक चलायमान हुने एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

प्रहरी प्रमुखमै समेत कतिपय काजमा खटिन्छन् । इन्स्पेक्टर प्रमुख हुने दर्जनौँ कार्यालयमा डिएसपीलाई काजमा खटाइएको छ । सइको दरबन्दीमा इन्स्पेक्टर खटिएका छन् । कतिपय अवस्थामा भने इन्स्पेक्टर कार्यालय प्रमुख हुने ठाउँमा तल्लो तहका प्रहरीलाई इन्चार्जमा पठाउने गरिएको छ ।

गत फागुन र चैतमा मात्र प्रहरी प्रधान कार्यालयले एक सयभन्दा धेरै इन्स्पेक्टरको काज सरुवा गरेको थियो । त्यसमध्ये आधालाई इन्चार्जका रूपमा खटाइएको थियो । सरुवा गर्दा आफूअनुकूल खटाउन सरुवा मापदण्डले नमिल्ने भएपछि यसरी काज खटाइएको थियो । त्यसरी मापदण्डविपरीत खटाइएकाहरूलाई हटाउने तयारी भइरहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

दुई महिनाअघि काठमाडौं उपत्यकामा लामो समयदेखि रवाना नलिई बसेका करिब एक हजार प्रहरीलाई बस नै रिजर्भ गरेर दरबन्दीमा खटाइएको थियो । उपत्यका प्रहरी कार्यालयका तत्कालीन एआइजी दिवेश लोहनीका अनुसार त्यसरी लामो समयदेखि बस्दै आएकामध्ये धेरैजसो खराब आचरणका थिए ।

‘त्यसरी दरबन्दीमा पठाइएकामध्ये एक सय २४ जना असाध्यै खराब प्रहरी थिए, तिनीहरूले राम्रा प्रहरीलाई पनि बिगारेका थिए,’ एक महिनाअघि अवकाश पाएका लोहनी भन्छन्, ‘यसरी लामो समयदेखि एउटै कार्यालयमा बस्ने प्रहरीको आफ्नै सर्कल हुन्छ, तिनीहरूले संगठनकै बदनाम गरिरहेका छन् ।’ खासगरी उपत्यकाका वृत्तहरूमा त्यस्ता प्रहरीको हालिमुहाली थियो । उनीहरूकै कारण उपत्यकाको पुलिसिङ नै बिग्रिएको प्रहरी अधिकारी बताउँछन् ।

तराईका केही जिल्लामा पनि यो समस्या छ । गत मंसिरको निर्वाचनमा सबैजसो जिल्लामा मद्दतका लागि प्रहरी प्रधान कार्यालयले थप जनशक्ति पठाएको थियो । जसमा पर्सामा भने थप पठाउनै परेन । किनकि त्यहाँ पहिलेदेखि नै दरबन्दीभन्दा धेरै प्रहरी कार्यरत थिए । पर्सा, रुपन्देही, मोरङ, झापा, चितवन, बाँकेलगायत सीमावर्ती जिल्लामा काज मिलाएर धेरै प्रहरी कार्यरत छन् । तराईका ट्राफिक कार्यालयमा पनि दरबन्दीभन्दा धेरै प्रहरी कार्यरत छन् ।

काज विकृति रोक्न आइजिपीले थाले अभियान 
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीमा काज विकृति रोक्ने अभियान सुरु गरेका छन् । जसअनुसार उनले नियमविपरीत काजमा खटिएका प्रहरीलाई धमाधम दरबन्दीमा रवाना गराउन थालेका छन् ।

एक साताको अवधिमा करिब दुई हजार दुई सयको रवाना भइसकेको र दैनिकजसो यो चलिरहेको प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए । प्रहरी संगठनमा शुद्धीकरण गर्ने आइजिपी कुँवरको अभियानअन्तर्गत काज सरुवामा हुने विकृति रोक्न लागिएको प्रवक्ता जिसी बताउँछन् । एक महिनाअघि महानिरीक्षकमा नियुक्त भएका कुँवरले संगठनमा शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।

साथै सरुवामा पनि फारम भर्न अनिवार्य गरिएको छ । प्रहरी अधिकारीले आफूअनुकूल काज सरुवाका लागि विभिन्न व्यक्तिमाथि प्रहरी नेतृत्वलाई दबाब दिने प्रवृत्ति छ । त्यसलाई कम गर्न सरुवाको माग फारम नभर्नेको सरुवा नगर्ने नीति प्रहरीले कार्यान्वयन गरेको छ । प्रहरी नियमावलीमै भएको प्रावधानलाई कडाइका साथ कार्यान्वयन गरिएको एसएसपी जिसी बताउँछन् । मधेस प्रदेशको प्रहरी प्रमुखमा कार्यरत रहँदा तीन महिनाअघि कुँवरले त्यहाँ वर्षौँदेखि कार्यरत एक सयभन्दा धेरै प्रहरीलाई दरबन्दीमा पठाएका थिए ।

नेपाल प्रहरीमा सरुवा कार्यान्वयन नै प्रमुख समस्या बन्दै गएको छ । सरुवा भएकामध्ये १५–२० प्रतिशत सरुवा भएको ठाउँमा नगई सकेसम्म रवाना रोक्ने तथा काज गराएर आफूअनुकूल कार्यालयमा बस्ने गर्छन् । ‘सरुवालाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकियो भने पनि पुलिसिङमा धेरै सुधार हुन्छ,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘प्रहरी नेतृत्व कमजोर हुँदा सरुवा कार्यान्वयन पनि कमजोर हुन पुगेको छ ।’ एकै कार्यालयमा लामो समय बस्ने प्रहरीको त्यहाँ खराब व्यक्तिहरूसँग साँठगाँठ हुने गरेकोसमेत पाइएको छ ।

चार वर्षभन्दा लामो समय घुमुवामा खटाउन नपाइने 
प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ । गत महिनादेखि लागू गरिएको कार्यविधिमा असल चालचलन भएकालाई मात्र सादा पोसाकमा खटाउन सकिने उल्लेख छ । साथै चार वर्षभन्दा लामो समय एकै प्रहरीलाई सादा पोसाकमा खटाउन नपाइने प्रावधान लागू गरिएको प्रहरी सहप्रवक्ता दीपेन्द्र जिसीले बताए । चार वर्षभन्दा लामो समय खटाउनैपर्ने अवस्था आए माथिल्लो कार्यालयबाट सहमति लिनुपर्ने भएको छ ।

घुमुवाका नामले चिनिने सादा पोसाकका प्रहरीको गैरव्यावसायिक गतिविधिका कारण संगठन नै बदनाम हुँदै आएको छ । कार्यालय प्रमुखले सूचना संकलनका लागि भन्दै व्यक्तिगत स्वार्थमा सादा पोसाकमा प्रहरी खटाउँदा विवाद हुने गरेको छ । यसमा प्रहरी प्रधान कार्यालयले सुधारको प्रयास गरेको छ ।

सादा पोसाकमा खटिनेहरू वर्षौँदेखि एउटै कार्यालयमा रहँदै आएका छन् । ६९ जना त नियमविपरीत काजमा बसेको पाइएको छ । त्यसमध्ये २२ जनालाई प्रहरी प्रधान कार्यालयले हालै दरबन्दीमा पठाइसकेको छ भने अरूलाई पनि खटाउने तयारी गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयमै अनावश्यक जनशक्ति
काजको समस्या प्रहरी प्रधान कार्यालयभित्रै पनि धेरै छ । जहाँ तीन सय ५८ जना नियमविपरीत छन् । कोही काजमा खटिएका छन् भने कोही सरुवा हुँदा पनि रवाना नलिई बसेका छन् । ६८ जनालाई रवाना गराइसकिएको र अरूको प्रक्रियामा रहेको प्रहरी सहप्रवक्ता दीपेन्द्र जिसीले बताए । तीन हजार चार सय दरबन्दी रहेको प्रधान कार्यालयमा करिब तीन हजार कार्यरत छन् । भिआइपीको सुरक्षामा खटिनेहरू पनि प्रधान कार्यालयमै हुने भएकाले पनि केही दरबन्दी धेरै देखिएको उनले बताए ।

दरबन्दीमा फर्काउने नेतृत्वको अभियान
आइजिपी वसन्तबहादुर कुँवरले काज विकृति रोक्ने अभियान सुरु गरेका छन् । उनले नियमविपरीत काजमा खटिएका प्रहरीलाई धमाधम दरबन्दीमा रवाना गराउन थालेका छन् । एक साताको अवधिमा करिब दुई हजार दुई सयको रवाना भइसकेको र दैनिकजसो यो चलिरहेको प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए । प्रहरी संगठनमा शुद्धीकरण गर्ने आइजिपी कुँवरको अभियानअन्तर्गत काज सरुवामा हुने विकृति रोक्न लागिएको उनले बताए । एक महिनाअघि आइजिपीमा नियुक्त भएका कुँवरले संगठनमा शुद्धीकरण आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए । साभार नयाँ पत्रिका


सम्बन्धित समाचार