Logo

१५ वैशाख,बारा । बाराको कोल्हबी नगरपालिकाको वडा नं.५ स्थित रामवनको अतिक्रमित ७ हेक्टर क्षेत्रफलको जग्गामा वन कार्यालयले वृक्षारोपण गर्ने भएको छ । जिल्ला वन सुरक्षा समितीका अध्यक्ष तथा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा डिभिजन वन कार्यालय सिमराको सभा हलमा बसेको बैठकले सो क्षेत्रमा वृक्षारोपण गर्ने निर्णय गरेको हो ।

डिभिजन वन अधिकृत बिनोद सिँहले दुईबर्ष अगाडि रामवन क्षेत्रको ५.३ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको तर केही ब्यक्तिहरुले जग्गा हड्प्ने मनसायले सो क्षेत्रमा लगाईएको बिरुवा मासेको बताउनुभयो । सो घटनामा सलग्ंन रहेको आरोपमा वन कार्यालयले वडा नं.५ का वडाध्यक्ष सहित केही ब्यक्तिलाई पक्राउ गरि उनीहरुमाथि मुद्धा समेत चलाएको थियो । पक्राउ परेका वडा अध्यक्ष जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् ।

डिभिजन वन कार्यालयले उक्त क्षेत्रमा तारबार सहित वृक्षारोपण गर्न काँडे तार र पोल झारिसकिएको डिभिजन वन अधिकृत बिनोद सिँहले जानकारी दिनुभयो । असार सम्ममा वृक्षारोपण गरिसक्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

यता बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले पहिलो चरणमा ७ हेक्टर क्षेत्रफलको जग्गामा वृक्षारोपण गर्ने भनिएपनि त्यस वरपर रहेका वनको अतिक्रमित सम्पुर्ण जग्गाहरु सुकुम्बासीको नाममा रहेको हुकुमबासीबाट छुट्कारा दिलाउने आश्वासन दिनुभएको छ । जिल्लाको विभिन्न ठाउँमा रहेका वनका अतिक्रमित जग्गाहरु वन कार्यालयको मातहत ल्याउने कार्य विस्तारै सुरु हुने उहाँको भनाई छ ।

बैठकमा बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्री, कोल्हबी नगरपालिकाको नगरप्रमुख राम प्रसाद चौधरी, पूर्व नगरप्रमुख भरत भण्डारी लगायतको सहभागिता रहेको थियो । बैठकको ब्यवस्थपान सहायक बन अधिकृत जवाहर प्रसाद कुर्मी र ललन राउतले गर्नुभएको थियो ।

 

 

 

 

 


सम्बन्धित समाचार