Logo

१६ वैशाख, जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले भानुचोकमा भानुभक्तको सालिक निर्माणका लागि शिलान्यास गर्नुभएको छ । २०६२÷०६३ को मधेश आन्दोलनको क्रममा भानुचोकमा रहेको भत्काइएको आदिकवि भानुभक्तको शालिक पुनः निर्माणका लागि आज बिहान उहाँले शिलान्यास गर्नुभएको हो ।

शिलान्यासको क्रममा राजनीतिक दलका युवाले विरोध गरे पनि शिलान्यास कार्यक्रम सम्पन्न गर्दै जनकपुरधामका प्रमुख साहले राजनीतिक प्रतिनिधिकै रोहबरमा बैठक बसी बोर्डबाट भानुभक्तको सालिक बनाउने निर्णय भएकाले विरोध नगर्न आग्रह समेत गर्नुभयो ।

शान्तिपूर्ण वातावरणमा कार्य सम्पन्न गर्नमा सबैलाई साथ सहयोग गर्न आग्रह गर्नुहुँदै सर्वदलीय बैठकमा विरोध जनाउने राजनीतिक दललाई वार्ताको लागि उहाँले आह्वान समेत गर्नुभयो ।

उहाँले दुई दिनभित्र सर्वदलीय बैठक बसी यो समस्या समाधान गर्ने बताउनुभएको छ । जनकपुरधामका प्रमुख साहले पुरानो संरचना शान्तिपूर्ण वातावरण समयमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबैको सहमतिमा कार्य सम्पन्न गर्न सर्वदलीय बैठकको लागि प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको बताउनुभयो ।

मधेश आन्दोलनको क्रममा भानु चोकमा रहेको भानुभक्तको सालिक तोडफोड गरिएपछि उक्त चोकको नाम सहिद रमेश महतो चोक घोषणा गरिएको थियो ।


सम्बन्धित समाचार