Logo

१६ वैशाख, वीरगञ्ज । मधेश प्रदेश सरकारले आफैंले खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साईकलको जिम्मेबारी लिनबाट पन्छिएको छ । ०७८ साल असारको तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन नसकेको हो ।

गोदाममै पाँच हजार थान साइकल कबाड बनिरहेको समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री कार्यालय निर्णय गरेर नै जिम्मेबारीबाट पन्छिएको हो । गत चैत ३० गते मुख्यमन्त्री कार्यालयको नाममा रहेको सो साइकल, तिनको सुरक्षा, उपयोग र भुक्तानिका लागि जिम्मेवार नरहेको निर्णय गरेको कार्यालयका सचिव नुरहरि खतिवडाले बताउनुभयो ।

उहाँले मधेशमा पैदल अनुसन्धान नामक पुस्तक बिमोचन कार्यक्रममा सो कुरा खुलासा गर्नुभएको हो । उहाँले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम सुरुमा लोकप्रिय भए पनि पछिल्लो समय अख्तियारमा मुद्दा दायर भएपछि सरकारको लागि टाउको दुखाइ भएको समेत बताउनुभयो ।

पुर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले तेस्रो चरणमा आर्थिक वर्ष २०७७÷७८ मा १० हजार थान साइकल ८ करोड ४४ लाख १० हजार रुपैयाँमा खरिद गरको थियो । काठमाडौंको पुतली सडकस्थित स्यान्यो इन्टरनेशनल प्रा.लि.मार्फत किनिएकामध्ये आधा साइकल करिब दुई वर्षदेखि मधेश भवनको गोदाममा थन्किएर कवाड बन्न थालेको हो ।


सम्बन्धित समाचार