Logo

१६ वैशाख, वीरगञ्ज । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका दलको गठबन्धन बनेको लामो समय बितिसके पनि सो गठबन्धन अनुसार सरकार विस्तार हुन सकेको छैन । गठबन्धनमा रहेका दलहरुबीच सरकार विस्तारबारे छलफल नभएकोले मधेसमा कांग्रेस सहितका दल सरकारमा सामेल हुन नसकेको सांसदहरुले बताएका छन् ।

मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको जसपा बारा–२ को उपनिर्वाचनमा केन्द्रित भएका कारण पनि सत्ता गठबन्धनका दलहरुसँग यस बीचमा छलफल हुन नसक्दा सरकार विस्तार हुन नसकेको गठबन्धनका सांसदहरुको भनाई छ । मधेसमा यसअघि एमालेसहितको गठबन्धनबाट जसपाले सरकारको नेतृत्व पाएको थियो । तर जसपाकै नेतृत्वमा रहेको सरकारबाट एमाले बाहिरिएको पनि लामो समय भईसकेको छ ।

एमाले बाहिरिएपछि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने तयारीमा छन् । अहिले मधेस प्रदेशको सरकारमै रहेको जनमत पार्टी भने संघीय सरकारबाट बाहिरिएको अवस्था छ । मधेस प्रदेशमा सो पार्टी सरकारमै रहन्छ कि बाहिरिन्छ भन्नेबारे पनि प्रस्ट हुन नसकेको हो ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार चाँडै हुने बताउनुभएको छ । उहाँले अध्यक्ष शनिबार काठमाण्डौँ जानुहुने र सो पश्चात शिर्ष नेताहरुको छलफलपछि निर्णय भई सरकार विस्तार हुने जानकारी दिनुभयो । यही हप्ता मन्त्रिपरिषद् विस्तार हुने उहाँको भनाई छ ।

अन्य दलले नेतृत्वमा दाबी गरिरहेको विषयमा उहाँले सो निर्णय समेत केन्द्रबाटै हुने भएकाले जे निर्णय भएर आउँछ त्यही मधेशमा कार्यान्वयन गरिने जिकिर गर्नुभयो । मधेस प्रदेशमा एमालेको २४, कांग्रेसको २२, जसपाको १९, जनमत पार्टीको १३, लोसपाको ९, माओवादीको ९, नेकपा एकीकृत समाजवादीको ७, नागरिक उन्मुक्ति र राप्रपाको एक–एक तथा स्वतन्त्र सांसद एक जना छन् ।

 


सम्बन्धित समाचार