Logo

१९ वैशाख, वीरगञ्ज । मधेश विश्वविद्यालयले चालू शैक्षिक सत्रबाट कानून र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएको मधेश विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि बिएएलएलबी र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको हो ।

सोको लागि प्रारम्भिक कार्य पूरा गरी विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले पाठ्यक्रम निर्माण गरिरहेको मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो ।

यही शैक्षिक शत्रबाट कानून र सामान्य जनप्रशासन गरी दुई वटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको उहाँको भनाई छ । तत्काल संरचना निर्माण भईनसकेकाले काठमाडौँ विश्वविद्यालयको समन्वयमा दुवै सङ्कायको पठनपाठन सुरु गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

गत २०७९ वैशाख १४ गते मधेश प्रदेशसभाद्वारा मधेश विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

पोलिटेक्निक, आइटि, व्यवस्थापन, पारामेडिकल, कृषि इञ्जिनियरिङ लगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेश प्रदेशलाई प्राविधिक शिक्षा हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डिपीआर तयारीमा जुटेको हो ।

 


सम्बन्धित समाचार