Logo

२० वैशाख, वीरगञ्ज । विगत तीन महिना देखिको तलब नपाउँदा बाराको महागढीमाई नगरपालिका अन्तर्गतका सामुदायीक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकालाई दैनिकी चलाउन समस्या भएको छ । तलब नपाउँदा यस्तो महङ्गीमा आफुहरुलाई छाक टार्न पनि समस्या हुन थालेको प्रा.वि. शिक्षक सोनालल प्रसाद यादवले बताउनुभयो ।

आफ्नै व्यवहारको कारण नजिकको किराना पसलबाट सामान उधारो लिएर दैनिकी चलाउँदै आईरहेको उहाँले बताउनुभयो । अब ३ महिना भईसक्दा पसलवालाले पनि उधारो नदिने र उधारो चुकाउन बाध्यता सिर्जना गर्न थालेको हुँदा निकै नै समस्य हुन थालेको उहाँले दुखेसो सुनाउनुभयो । यस्तै अवस्था विद्यालयमा काम गर्ने कार्यालय सहयोगी रामनारायण यादवको छ ।

दैनिकी छाक टार्न किराना पसलबाट उधारो लिएको र संचालकले पैसा माग्दा हारगुहार बाहेक केही गर्न नसकिएको उहाँले बताउनुभयो । आफु कार्यालय सहयोगीको रुपमा सबैलाई सहयोग गरे पनि आफ्नो सहयोगी बन्न नगरप्रमुखले कुनै पहल नगरेको देखिएको उहाँले दुखेसो सुनाउनुभयो ।

तीन महिना यताको दिवा खाजाको रकम निकासा नहुँदा रोकिने अवस्था समेत सिर्जना हुनथालेको पालिका अन्तर्गत गर्ने नेराआबु ईनर्वाका प्रधानाध्यापक परमहंश यादवले बताउनुभयो । बच्चाहरुलाई विद्यालयमा टिकाई राख्न र उनीहरुको स्वास्थ्यको ख्याल गर्दै संचालन गरिएको दिवा खाजा कार्यक्रमलाई जसोतसो उधारोमा सामान मगाएर संचालनमा राखेको बताउनुहुँदै अब उधारो धेरै भएको कारण दिवा खाजा बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

पालिका अन्तर्गतका सामुदायीक विद्यालयमा ३० जना कम्प्युटर शिक्षक, ४० जना कार्यालय सहयोगी, ४५ बालबिकास शिक्षक÷शिक्षिका लगायत ३०८ जना शिक्षक÷कर्मचारी रहेको र तीन महिना देखि नपाएको तलबका कारण सबैको अवस्थथ असहज भएको नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्षसमेत रहनुभएका प्रधानाध्यापक यादवले बताउनुभयो ।

यसैविच बाध्यतावस शिक्षक÷शिक्षिकाहरुको एक समुहले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई हिजो (मंगलबार) ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले तीन महिना यताको तलबभत्ता, गत शैक्षिक शत्रको पोशाक भत्ता, चालु शैक्षिक शत्रको पाठ्यपुस्तक, छात्रवृति र दिवा खाजाको रकम ७ दिनभित्र नगरपालिकाको कार्यालयबाट निकासा हुनुपर्ने माग गरेका छन् ।

माग सम्बोधन नगरिए वैशाख २६ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने संघका अध्यक्ष यादवद्वारा हस्ताक्षरित ज्ञापनत्रपमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सापकोटाले यस बारेमा नगरपालिकाका जनप्रतिनिधिसँग बुझेर आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको संघका सचिव जितेन्द्र प्रसाद साहले बताउनुभएको छ ।

यता महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले प्रमुख प्रशासकीय अधिकृत नहुदाँ यस्तो समस्या उत्पन्न बताउनु भयो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्त गएपछि संघीय मामीला तथा स्थानीय प्रशासन मन्त्रालयले सट्टामा अर्को अधिकृत अहिलेसम्म पनि नपठाएको उहाँले बताउनुभयो ।

तीन महिनादेखि अधिकृत ननहुदा आर्थिक देखि प्रशासनिक सम्मका कामकाजज ठप्प नै भएको यादवको भनाई छ । मन्त्रालयमा पटक पटक ताकेता गर्दापनि कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । एक÷दुई दिनमा पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउने आफु प्रशासन मन्त्रालयबाट आश्वासन पाएको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार