Logo

२० वैशाख, वीरगञ्ज । “भविष्यको अधिकार सुनिश्चितता  मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको हो ।

अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न युनेस्कोले अपिल समेत गरेको छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ ।
यसैबिच एक वर्षको अवधिमा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएका छन् । मे ३ सन् २०२२ देखि अप्रिल २६ सन् २०२३ प्रेस स्वतन्त्रता हननका ५५ वटा घटना भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

गएको वर्ष यही अवधिमा ७५ वटा घटना अभिलेख भएका थिए । यसबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी एक सय एक पीडित भएका छन् । महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भएअनुसार यी घटनामा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई घटना भएका छन् ।

कब्जा अवरोधका सात, दुर्व्यवहार तथा धम्कीका २४, आक्रमणका ११ वटा घटना भएका छन् । यस्तै लैङ्गिक हिंसाका दुई, विस्थापन एक र पेसागत असुरक्षाका ५५ वटा घटना भएका छन्


सम्बन्धित समाचार