२० वैशाख,वीरगञ्ज । बारा जिल्ला स्थित महागढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेशमा निषेध गरिएको छ । महागढीमाई नगरपालिकामा पर्ने मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेशमा निषेध गरिएको त्यहाँका मेयर उपेन्द्र यादवले बताउनुभएको छ ।
यादवले मन्दिरसँगै नगरपालिका क्षेत्रमा पनि प्रवेश गर्नबाट उनीहरुलाई निषेधित गरिएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबूकमा एउटा पोष्ट लेख्दै मेयर यादवले बारा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने महागढीमाई नगरपालिअन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्र भित्र पाँच दलिय गठबन्धनका नेतागण तथा मन्त्रीहरुको प्रवेशमा निषेध गरिएको लेख्नुभएको छ ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । केहि दिन अघि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन मेयर उपेन्द्र यादव जोरसोरले लाग्नु भएको थियो ।