Logo

२१ वैशाख,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाल पत्रकार महासङ्घ प्रदेश कमिटीको अक्षयकोष स्थापनाको लागि १ करोड २५ लाख रुपैयाँ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हिजो नेपाल पत्रकार महासङ्घ रौतहट शाखाले रौतहटको चन्दरनिगाहपुरमा आयोजना गरेको मधेस प्रदेश सञ्चार सम्मेलनमा बोल्दै मुख्यमन्त्री यादवले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम लगायतको व्यवस्थापनको लागि मधेस सरकार सदैव तयार रहेको उहाँको भनाई छ । मुख्यमन्त्री यादवले मधेस प्रदेशमा पित पत्रकारिता बढेको गुनासो गर्दै मर्यादित र निष्पक्ष पत्रकारिता गर्न सुझाव दिनुभएको थियो ।

उहाँले आफ्नो कार्यकालमा प्रदेशको विकास र भ्रष्टाचार नियन्त्रण पहिलो प्राथमिकतामा रहनेमा जोड दिनुभएको छ । पाँच वर्षको कार्यकालमा प्रदेशको प्रत्येक जिल्लामा एउटा एउटा मेडिकल कलेजको स्थापना गर्ने बताउनुहुँदै मुख्यमन्त्री यादवले यस आर्थिक वर्षमा कम्तीमा ४ जिल्ला अस्पताललाई १०० बेडको रूपमा स्तरोन्नति गरेर कम्तीमा अहेब, हेल्थ असिस्टेन्ट र नर्सिङको पढाई सुरू गराउने विश्वास दिलाउनुभएको थियो ।

कार्यक्रममा पत्रकारितामा विशेष योगदान गरेका प्रदेशका आठै जिल्लाका एक दर्जन पत्रकारलाई मुख्यमन्त्री यादवले सम्मान गर्नुभएको थियो ।


सम्बन्धित समाचार