Logo

२१ वैशाख,काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको उल्लेख गर्नुभयो । उहाँले कुनै पनि बेला दोषी उम्किनु नहुने र निर्दोष फस्नु नहुने भन्दै फसाउने षड्यन्त्र रचिएको भए सह्य नहुने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सांसद रायमाझीलाई तानेको हो कि तनाएको हो भन्नेबारे अध्ययन गर्दैछौँ । अध्ययन गरेपछि आफ्नो धारणा बाहिर ल्याउँछौँ । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ । चेक जसले काटेको हो उसैसँग छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई षड्यन्त्रपूर्वक बाटोमा समाउनु रहस्यपूर्ण छ, उहाँ भागेर जाने कतै होइन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग आफूले समसामयिक राजनीतिक विषयमा छलफल गरेको र सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।साभार उज्यालो


सम्बन्धित समाचार