Logo

२३ वैशाख,सिम्रौनगढ । बाराको सिम्रौनगढमा मालपोत कार्यालय उद्घाटन भएको १० महिना वित्दा पनि सञ्चालनमा नआउँदा स्थानियलाई सास्ती भएको छ । सिम्रौनगढमा मालपोत कार्यालय सञ्चालनमा नआउँदा स्थानीयहरुलाई अहिले लामो दूरी तय गरेर कलैया धाउनुपर्ने बाध्यता रहेको छ ।

मालपोत कार्यालय स्थापनाको लागि २०७२ सालमा निर्णय भए अनुसार मालपोत कार्यालय, सिमरा सञ्चालनमा आएको वर्षौं बितिसकेको छ तर सिम्रौनगढको मालपोत कार्यालय भने अहिलेसम्म सञ्चालन नभएकोप्रति स्थानियले दुःख व्यक्त गरेका छन् ।

निर्णय भएको सात वर्षपछि गत भदौ १ गते तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले मालपोत कार्यालय, सिम्रौनगढको उद्घाटन गर्नुभएको थियो ।

भवन भाडामा लिई बोर्ड पनि झुन्ड्याइएको भए पनि कार्यालय भने सञ्चालनमा आएको छैन् । मालपोत कार्यालय, बाराबाट सिम्रौनगढ र सिमरामा शाखा सञ्चालन गर्ने निर्णय भएको थियो ।

सिमरामा मालपोत कार्यालय सार्ने क्रममा निकै विवाद भएपनि रातारात सारिएको थियो । तर सिम्रौनगढमा तत्कालीन २८ वटा गाविसको कारोबार हुनेगरी कार्यालय सञ्चालन गर्ने निर्णय भएपनि सोको कार्यान्वयनमा नआउनु दुखद भएको स्थानिय बुद्धिजीवीहरुले बताएका छन् । आफुहरु मालपोत कार्यालयमा कुनै कार्य गराउन जाँदा दिनभरी नै लाग्ने गरेको र सवारी खर्चपनि बढी लाग्ने गरेको स्थानिय राजेश महतोले बताउनुभयो ।

 


सम्बन्धित समाचार